प्रदेश २ स्वास्थ्य प्रयोगशालामा व्यापक अनियमितता, पैसाको सेटिङमा १९ कर्मचारी भर्ना
टुडेपाटी –
जनकपुरधाम, ३१ गते ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निमित्त प्रमुख राम विनय साहले प्रक्रिया मिचेर कर्मचारी भर्नामा व्यापक अनियमितता गरेको पाइएको छ । पहुँच र आर्थिक लेनदेनकै भरमा प्रयोगशालाका निमित्त प्रमुख राम विनय साहले १९ जना कर्मचारी भर्ना गरेको खुलेको हो ।
प्रयोगशालाले गत अषाढ १ गते प्रयोगशालाको भित्तामै सूचना टाँसेर कर्मचारी भर्ना आह्वान गरेका थिए । अषाढ मसान्त अवधिकालागि करारमा कर्मचारी भर्ना गर्ने र आवश्यक्ता अनुसार म्याद थप्नेगरी २४ जना कर्मचारी भर्नाकालागि निकालिएको सूचना अनुसार ३५ जनाले आवदेन दिएका थिए ।
तर आवेदकलाई लिखित मात्र नभइ अन्तर्वाता समेत नलिई निमित्त प्रमुख साहले मनलाग्दी कर्मचारी भर्ना गरेका थिए ।
आवदेन दिएकामध्येबाट १ जना ल्याब टेकनिशियन, ४ जना कार्यालय सहयोगी, २ जना मेडिकल ल्याब टेक्नलजिस्ट, ल्याब टेक्निशियन २ जना, कम्पयुटर अपरेटर ३ जना, सेक्युरिटी गार्ड ४ जना, भान्से दुइ र स्वीपर एकजनालाई फोनमार्फत बोलाएर सिधा हातमै नियुक्त पत्र थमाइएको हो ।
आह्वान गरिएको माइक्रोबाइलजिस्ट पदकालागि आवदेन दिएकामध्येबाट उपयुक्त उम्मेदावर नदेखिएपछि सो दरबन्दी रिक्त रहेको प्रयोगशाला प्रमुख साहको भनाइ छ ।
Sponsored
प्रयोगशाला कर्मचारी स्रोतका अनुसार पहुँच र आर्थिक लेनदेनको भरमा १९ जना कर्मचारी नियुक्त गरिएको हो । ‘भर्ना भएकामध्ये केही व्यक्ति पहुँचबाला व्यक्तिको सिफारिसमा आएको हो तर धेरैजसोलाई पैसा लिएर नियुक्ति दिइएको छ । बार्गेनिङ गरेको हामीसँग प्रमाण पनि छ तर उसलाई समस्या हुन्छ त्यसैले हामी दिन प्रमाण दिन सक्दैनौ,’ स्रोतले भन्यो । तर प्रयोगशाला प्रमुख साहले पैसा लिएर नियुक्ति दिइएको कुरा अस्वीकार गरे ।
‘कोरोना परिक्षण दर बढाउन समाजिक विकास मन्त्रालयले कर्मचारी भर्ना गर्न सहमती दिएको थियो । त्यसै अनुसार हामीले समाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत सूचना प्रकाशित गर्यौ । तीन दिनको समय दियौँ । सर्ट लिस्ट गर्यौ । सबैको इन्टरभ्यु लिने मसँग समय पनि हुनुपर्यो नि ? कसलाई छान्ने मेरो अधिकारको विषय हो,’ प्रयोगशाला प्रमुख साहले भने, ‘हिनामिना गर्न नपाएपछि प्रयोगशालाकै कर्मचारीले मेरो विरुद्धमा षडयन्त्र गरेका छन् । यस्तै रहयो भने अषाढपछि भर्ना गरेको सबै कर्मचारीलाई हटाइदिन्छु । कोरोना परिक्षण नै बन्द हुन्छ ।’
आवदेन दिएर दर्ता नम्बर माग्दा एकैपटक अन्तर्वातामै बोलाउँछु भनेर फर्काइदिएको आवदेक प्रदिप कुमार दासले गुनासो पोखे । ‘दुइदिनपछि आवेदन दिएका एकजना साथीलाई फोन गर्दा मलाई जागिर भइसक्यो भनेर भने । हाम्रो पहुँच थिएन् त्यसैले हामीलाई बोलाएन्,’ उनको गुनसो छ ।
प्रक्रिया मिचेर मनोमानी ढंगले कर्मचारी भर्ना गरेपछि आवेदकहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत गरेको छ । उजुरीपछि जिल्ल प्रशासन कार्यालयले स्पष्ट ब्यहोरा खुलाएर पठाउन प्रयोगशालालाई अषाढ १७ गते पत्राचार समेत गरेको छ ।
‘बिना अन्तर्वाता नै मनोमानी ढंगले मान्छेलाई आर्थिक प्रलोभनमा समेत लिइ नियम विपरित नियुक्ति गरेको भन्ने गुनासो उजुरी यस कार्यालयमा प्राप्त हुन आएकाले सो समबन्धमा के भएको हो स्पष्ट ब्यहोरा खुलाई यस कार्यालयमा यथाशिघ्र पठाइदिनु हुन अनुरोधछ,’ पत्रमा भनिएको छ ।
यस विषयमा अनुसन्धान भइरहेको मुद्दा फाँटका कर्मचारी गनपैत झाले बताए । ‘आवेदकलाई कम्तीमा बोलाएको पनि छैन् । मनोमानी गरेकै छन् । पत्राचार गरेपछि मनोमानी गरेकै छन् । तर भर्ना जरुरी थियो समय अभावले प्रक्रिया पुगेन भनेर बहाना बनाउँदै छन्,’ उनले भने, ‘अनुसन्धान हुँदैैछ । प्रशासकीय अधिकृत बाहिर हुनुहुन्छ । के कार्वाही गर्ने वहाँ आइसकेपछि निर्णय हुनेछ ।’
प्रयोगशालामा आवश्यक्ता नै नभएका कर्मचारी समेत भर्ना गरिएको र प्रयोगशालाभित्र रहेका कर्मचारीलाई कामै गर्न नदिएको कर्मचारीहरुको आरोप छ । ‘हामी प्रयोगशालामा बसिरहेका छौँ । तर करारमा भर्ना गरिएकाहरुलाई प्रयोगशालामा पनि ड्युटि दिइएको छ र सोही दिन फिल्ड भिजिट बापतको भत्ता समेत दिइएको छ,’ ल्याब टेकनिशियन युगल किशोर यादवले भने । प्रयोगशाला प्रमुख साहले स्टोरले किन्नुपर्ने सरसमान समेत आफैले बढी मूल्यमा किनेर अनियमितता गरेको उनेको आरोप छ ।
तर निमित्त प्रमुख साहले आवश्यक समान स्टोरले खरीद नगर्दा मात्र आफु खरिदमा संलग्न हुनेगरेको बताए । ‘५ लाखसम्मको समान त्यतिकै पनि किन्न सक्ने मेरो अधिकार हो । भान्सेको सरसमान किन्नु छ तर मौखिक रुपमा स्टोरका कर्मचारीलाई भन्दा टेर्दैनन् । प्रयोगशालाकालागि आवश्यक अन्य समाग्रीको भुक्तानी दिन कर्मचारीले मानेको छैन । म आफ्नै पैसा तिरेर के के गर्नु ?,’ उनले सुनाए ।
भर्ना गरिएको कर्मचारीको म्याद नथप्ने उनको भनाइ छ । ‘हामीले म्याद थप्दैनौ जे गर्छ अब यहाँका नागरिक समाज र प्रशानले गर्ने हो । टेस्ट होस वा नहोस म के गर्न सक्छु अब,’ उनले थपे ।
भान्से, प्रयोगशाला लगायतका प्रयोजनकालागि खरिद गरी ल्याएको समानको भुक्तानी दिन कर्मचारीले नमानेको उनले गुनासो पोखे ।