चीनमा भिषण बाढीले १ सय ४१ जनाको मृत्यु, ११ अर्ब अमेरिकी डलर बराबरको क्षति
टुडेपाटी
काठमाडौँ, असार २९ गते ।
चीनमा भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । केही दिनयता जारी भिषण बाढीका कारण यहाँका १४१ जना व्यक्तिको मृत्यु भएको छ ।
बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका बताइएको छ। चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो।
चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ। यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ।
चीनको याङ्चेसहितका कयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ।
Sponsored
बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ।
बाढीका कारण यहाँका २८ हजार भन्दा बढी घरमा क्षति पुगेको छ। यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ।
बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्। रासस