TodayPati

अविरल वर्षाका कारण आएको बाढीले जलेश्वर डुबानमा

रंजन भण्डारी-

महोत्तरी, असार २९ गते ।

स्थानीय रातु खोलामा आएको बाढीले महोत्तरीको जलेश्वर बजारसमेत डुबानमा परेको छ । आइतबार बजार क्षेत्रका केही भागमा घुँडासम्म पानी भरिएको छ । शुक्रबार रातिदेखि नै एकडारा गाउँपालिका–६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराको बीचमा रहेको तटबन्ध भत्किएर रातो नदी गाउँ पस्न थालेको थियो । लगातार वर्षा भइरहेपछि बाढी पनि बढ्दै गयो । आइतबार बिहान सदरमुकाम जलेश्वर बजारमै पुग्यो । जलेश्वर नगरपालिका कार्यालय भएको क्षेत्रमा तीन फिटजति पानी जमेको छ । 

Sponsored

नदीमा पानीको बहाव कम नभए बाढीले पिपरा, बल्वा, महोत्तरी, जलेश्वर, मटिहानी र एकडारा क्षेत्रमा समेत डुबान गर्ने खतरा छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले रानी रतवारामा भत्किएको तटबन्ध निर्माणका लागि सेनाको टोली खटिइसकेको बताए । जलेश्वरका मेयर रामशंकर मिश्रले प्रभावित क्षेत्रको अवलोकन गरेर सतर्कता अपनाइने बताए । 

त्यस्तै, बिग्ही नदीमा आएको बाढीले मटिहानी नगरपालिकाको सिमरदही, धिरापुर, बहुअर्वा र मटिहानी बजार क्षेत्रमा डुबान गरेको छ । नगरपालिकाले बस्ती नै डुबान हुन सक्ने भन्दै सुरक्षित स्थानतर्फ जान स्थानीयलाई आग्रह गरेको छ । जंघा नदीमा पनि पानीको बहाव बढ्न थालेको छ, यसले औरही नगरपालिकाका विभिन्न वडाहरू डुबानमा पर्ने खतरा बढेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले उद्धार तथा रोकथामका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।  

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *