लकडाउन अवधिमा पनि लक्ष्य अनुसारको वीरगञ्ज महानगरको २० करोड राजस्व संकलन
टुडेपाटी-
वीरगन्ज, असार २८ गते ।
प्रदेश नम्बर २ का एक मात्र महानगरपालिका रहेको वीरगन्ज महानगरपलिकाले लकडाउन अवधिमा पनि लक्ष्यअनुसार राजस्व संकलन गरेको छ ।
पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ । गत वर्ष पनि यस अवधिमा सोही बराबरको रकम संकलन भएको थियो ।
चैत ११ देखि जारी लकडाउनमा महानगरको कामकाज ठप्प रह्यो । असार १ गतेदेखि नियमित रुपमा राजस्व संकलन हुँदा लक्ष्य भेट्टाउन सफल भएको राजस्व महाशाखाले जानकारी दिएको छ ।
स्थानीय कर, घर जग्गा कर, मालपोत तथा भूमिकर, सम्पत्ति कर, व्यवसाय कर, व्यापारिक कर लगायतबाट महानगरपालिकाले २५ दिनमा २० करोड २५ लाख रुपैयाँ संकलन गरेको राजस्व महाशाखा प्रमुख रामदयालप्रसाद यादवले जानकारी दिए ।
Sponsored
वीरगन्ज महानगरपालिकाले आव २०७६/०७७ मा ४८ करोड ६६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लकडाउनअगाडि २४ करोड ६० लाख संकलन भएको थियो ।
लकडाउनयता २० करोड २५ लाख रुपैयाँ संकलन गरी कुल ४४ करोड ८५ लाख रुपैयाँ संकलन गरिसकेको यादवले बताए । यही गतिमा राजस्व संकलन अरु केही दिन हुने हो भने महानगरको लक्ष्य पुग्ने राजस्व महाशाखा प्रमुख यादवको भनाइ छ ।
महानगरले राजस्वतर्फ २८ करोड ५१ लाख र मातपोततर्फ १६ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ । उनले भने, ‘आर्थिक मसान्तको अन्तिम सातासम्म लक्ष्यअनुरुप बाँकी ३ करोड ८१ लाख रुपैयाँसमेत संकलन हुने विश्वास लिएका छौं ।’