TodayPati

कोशीमा पानीको बहाव उच्च, ३६ वटा ढोका खोलियो

टुडेपाटी-
सप्तरी, असार २६ गते ।

निरन्तर वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव उच्च भएपछि ३६ वटा ढोका खोलिएको छ ।

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

Sponsored

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौं गाउँ डुबान पर्ने गरेको छ भने यो क्षेत्र वर्षेनी वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ । कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउँवासीको उठिवास हुने गर्छ ।

लगातारको वर्षापछि कोशीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले उच्च सतर्कता अपनाउदैँ नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल समेत गरेको छ ।
सप्तरीका प्रहरी निरीक्षक कृष्ण प्रसाईले बाढीका कारण आउनसक्ने चुनौतीको सामना गर्न आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कोशी नदी र खाडो नदीमा बाढी आउदा हरेक वर्ष भारदह, पोर्तहा, जमुनिया, तिलाठी कोइलाडी लगायतका गाउहरू डुबानमा पर्ने गर्छन् भने गाउँलेहरुको उठिवास नै हुने गरेको छ ।
विगत वर्ष आएको बाढीले बगाएको तटबन्ध लगायतका निर्माण कार्य अधुरै रहेका कारण र यस वर्ष अधिक वर्षात हुने देखिएपछि सप्तरी र सुनसरीमा विगत भन्दा बढी यस वर्ष बाढी आउने अनुमान स्थानीय प्रशासनको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *