प्रदेश २ का अधिकांश नदिमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित
टुडेपाटी-
जनकपुरधाम, असार २६ गते ।
बुधबार रातिदेखि परेको अविरल वर्षाले तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
तराईका विभिन्न जिल्लाका सप्तकोसी बागमती लगायतका नदीमा पानीको सतह बढेसँगै जिल्लाका तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
बारा, पर्सा, रौतहट, सप्तरी, धनुषा-सिरहा जोड्ने कमला नदि लगायतका खोलानालामा पानीको बहाव बढेको हो । नदीमा पानीको सतह बढेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्युनिकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन समेत दिएका छन् ।
बाराका मोतीसर, भलुही, पसाह, जमुनी, पर्साका तिलावे, भलुवाही, गण्डक नहरमा पसेकाे बाढीले सडक, बाटोघाटो लगायतको क्षेत्र डुबानमा परेको छ ।
Sponsored
रौतहटमा बागमती र जमुनीमा पानीको सतह बढेको स्थानीयले बताएका छन् ।
पर्साका छिपहरमाई र पाकहामैनपुर गाउँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडिहर्वा, चरगाह, पुर्वारी, टिहुकी, जयमगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वालगायत बर्सेनि डुबानमा पर्ने गरेको छ।
जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको पर्साका प्रहरी नायब उपक्षीक मनोजित कुँवरले जानकारी दिए ।
‘दैवी प्रकोप तथा उद्धार समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत तयारी अवस्थामा छ’,उनले भने ।