सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, सिटको एक लाइनमा एक जना मात्र बस्न पाउने
टुडेपाटी
जनकपुरधाम, असार २५ गते ।
सरकारले छोटो दुरीको सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्ने निर्याय भएको हो ।
बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यो निर्णय भएको बताएका हुन् ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने उनले बताए । उनका अनुसार ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।
तर काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।
मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।
ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।
Sponsored