TodayPati

प्रधानमन्त्री ओलीको समर्थनमा जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, असार २४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जनकपुरधाममा पनि प्रदर्शन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्व बढिरहेको बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनकपुरमा प्रदर्शन भएको हो ।

प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा काम गरेको भन्दै युवाहरूले उनको समर्थनमा जुलुस निकालेका हुन् ।

Sponsored

जनकपुरको शंकटमोचन मन्दिर नजिक जम्मा भएका युवाहरूले प्रधानमन्त्री ओलीको तस्बिरका साथै पार्टी फुटाउन पाइँदैन भन्ने नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

शंकटमोचन मन्दिरबाट सुरु भएको जुलुस रामानन्द चोक, पिडाडी चोक, मिल्स एरियालगायतका क्षेत्रहरूको परिक्रमा गरेको थियो। नगर परिक्रमापश्चात जनक चोकमा आयोजित कोणसभामा बोल्दै युवाहरूले मुलुकको विकासको लागि प्रधानमन्त्रीमा ओलीको विकल्प नरहेको बताएका थिए ।

नेकपाका युवा संघका नेता संजीव झाले जनताले पार्टी अध्यक्ष ओलीलाई दुई तिहाइ बहुमत दिएको भन्दै स्थायित्वलाई निरन्तरता दिन उनको विकल्प नरहेको बताउँछन् । पार्टी र मुलुकलाई एकढिक्का बनाएर अघि बढ्न अध्यक्ष ओलीले दिएको योगदान हेरेरपनि उनको विकल्प खोज्न नहुने झाले बताए ।

Sponsored

जनकपुरका साथै नेकपा अध्यक्ष ओलीको समर्थनमा प्रदेश २ का अन्य जिल्लाहरूमा पनि प्रदर्शन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *