TodayPati

मेयर साहको बेवास्ताले दुर्गन्धित हुँदै जनकपुर

टुडेपाटी-
जनकपुरधाम, असार २४ गते ।

प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाम यतिबेला दुर्गन्धित हुँदै गएको छ । जनकपुरधाममा फोहोर व्यवस्थापन हुन नसक्दा नगरको हरेक क्षेत्र दुर्गन्धित हुँदै गएको छ ।

जनपकुरधामको मुख्य सडकहरु चिल्ला भएपनि नगरमा फोहोर नउठाउँदा सडकनै दुर्गन्धित भएको छ । जनकपुरधामको मुख्यबजारसहित, विभिन्न गल्लीहरु फोहोर थुपार्ने ठाउँको रुपमा परिणत भएको छ ।

सडकको छेउमा रहेको फोहरमैलाको व्यवस्थापन गर्दै आएपनि पछिल्लो केहि दिनदेखि फोहोर व्यवस्थापनका लागि जग्गा अभाव भएपछि जनकपुरधाम उपमहानगरपालिकामा फोहोर उठ्न सकेको छैन ।

Sponsored

फोहोर सडक छेउबाट व्यवस्थापन हुन नसकेपछि जनकपुरधामका स्थानीयसहित यहाँ आइरहेका यात्रुहरुलाई समेत सास्ती खेप्नु परिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा पसल सञ्चालन गर्दै आएका वसिम अकरमले आफूहरुले बारम्बार फोहोर उठाउनका लागि भनेपनि कुनै सुनवाई नभएको बताए । नियमित रुपमा कहिल्यै फोहोर नउठेपनि अहिले आएर करिब १० दिनदेखि फोहोर उठाउन उपमहानगरका सफाई कर्मचारी नआएको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानु चोक, शिव चोक, जनक चोक, राजदेवी मन्दिर नजिक, राम चोक, रामानान्द चोक, पिडारी चोक, प्रादेशिक अस्पताल लगायतका मुख्य स्थानहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

फोहोर नउठनुमा प्रमुख हाथ नगरप्रमुख लालकिशोर साहकै रहेको उनले आरोप लगाए । डम्पिङसाइटको अभावका कारण जनकपुरधाममा फोहोर उठन सकेको छैन । उपमहानगरसँग फोहोर फाल्ने आफ्नो जग्गा नरहेकोमा यसतर्फ प्रमुख साहले ध्यान केन्द्रित गर्नुको साटो आफ्नो ढुकुटी भर्नमै व्यस्त रहेको उनले आरोप लगाए ।

Sponsored

वडाध्यक्ष साहले उपमहानगरसंग आफ्नो जग्गा भएको भए यो समस्या उत्पन्ननै नहुने बताए । निर्वाचित भएको ३ वर्ष भइसके पनि डम्पिङसाइटका लागि जग्गा खोज्नुभन्दा, जनताको मूलभूत आवश्यकता पूर्ति गर्नुभन्दा पनि जनताको पैसा कसरी फिजुलमा खर्च गर्नेतर्फ मेयरको ध्यान रहेको वडाध्यक्ष साहको भनाइ छ ।

यता उपप्रमुख रीता मिश्रले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिइन् । वडा नम्बर १६मा फाहोर फालिँदै आएकोमा सो जग्गा निजी व्यक्तिको रहेकोले फोहोर फाल्ने ठाउँको अभाव भएको मिश्रले बताइन् ।

उनका अनुसार वडा नम्बर १६ जहाँ फोहोर फालिन्थ्यो त्यो जग्गामा एक व्यक्तिले आफ्नो निजी जग्गा रहेको दावी गरेपछि नक्सा निकाल्दा सोही व्यक्तिको नाउँमा सो जग्गा रहेको थियो ।

फोहोर फाल्नका लागि सरकारी जग्गाको खोजी भइरहेको उपप्रमुख मिश्रले बताइन् । एक दुई दिनमा जग्गा भेटेन भने फोहोर व्यवस्थापनका लागि सूचना निकालेर ठेक्का लगाउने प्रकृया शुरु गर्ने बताइन् ।

जनकपुरधाम उप(महानगरपालिकामा ८० जना सफाई कर्मचारी रहेका छन् भने फोहोर उठाउनका लागि ६ वटा ट्र्याक्टर, ६ वटा ट्रिपर तथा ६ वटा म्याजिक गाडीहरु रहेको छ। साथै सडक सफा गर्ने एक ब्रुमर मात्रै छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *