तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउन सप्तरीमा धार्मिक सभा सञ्चालन
टुडेपाटी-
सप्तरी, फागुन २ गते ।
सरकारले तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सप्तरीमा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा नेपाल र भारतबाहेक आउने मुस्लिम समुदायलाई धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको हो ।
अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् । सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ ।
गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरुबाट पनि बोलाइएको भन्दै बिहीबार सभा सञ्चालनमा रोक लगाएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले सभा सञ्चालनको अनुमति दिएको बताइएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइँका अनुसार ‘तेस्रो मुलुकबाट आएकाहरुलाई फर्काउने शर्तमा हामीले सभा सञ्चालन गर्न भनेका छौं’ साथै अन्य देशबाट आउनेहरुलाई आयोजकले नै फिर्ता पठाउन थालेको उनले बताए ।
Sponsored
नेपाल र भारतबाहेकका दुई सय जनासम्म सभास्थलमा आइसकेको बताउँदै उनीहरुलाई फर्काउने काम आयोजकले नै गरिरहेको सप्तरीका एसपी प्रसाइँले जानकारी दिए ।
सभामा नेपाल र भारतबाट मात्रै मुस्लिम धर्मका अगुवालाई बोलाउने भनिए पनि पाकिस्तान, दुबई, कतारलगायतका देशहरुबाट समेत बोलाइएपछि सुरक्षाको कारण देखाउँदै सभालाई रोक्न गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।
आयोजकका अनुसार बोदेबर्साइन नगरपालिकाको जाँजर टोलमा मुस्लिम धार्मिकसभा गर्न सयौं टेन्ट निर्माण गरिएको हो । शनिबारदेखि प्रारम्भ हुने धार्मिकसभा सोमबारसम्म चल्ने छ ।
सुरक्षा संवेदनशीलता बढेको भन्दै धार्मिक सभा हुने स्थान र त्यस वरपरका क्षेत्रमा बिहीबारदेखि नै ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । आयोजक समितिका सदस्यहरु आफैं पनि सुरक्षा र ट्राफिक व्यवस्थापन खटिएका आयोजक समितिले जनाएको छ ।
आपसी समन्वयमा नै आयोजकले आफ्ना स्वयंसेवक परिचालन गरेको एसपी प्रसाईंले बताए ।