सहिदनगरको बजेट पौने ५५ करोड, कृषि र शिक्षामा जोड
टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।
धनुषाको सहिदनगर नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को लागि लागि पौने ५५ करोडको बजेट विनियोजना गरेको छ । सोमबार सम्पन्न नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट विनियोजन गरेको हो । जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ ।
यसपटक बजेट र नीति कार्यक्रममा कोरोना भाइरसको महामारीको कारण प्रभावित भएका विपन्न वर्गलाई श्रममूलक योजनाहरु लगाएर प्रत्यक्ष रोजागरी सृजना गर्ने योजनाहरु ल्याइएको नगरप्रमुख उदयकुमार बरबरियाले बताए । लकडाउन र कोभिडका कारण प्रभावित गर्भवती महिला, अपांग, बालबालिकाहरुलाई केन्द्रित गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने, कोभिड सम्बन्धी र सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने नीति बजेटमा लिइएको जनाएको छ ।
यस्तै बजेटमा शिक्षा र कृषि क्षेत्रलाई विशेष जोड दिएको छ । कृषिलाई आधुनिकीकरण गर्ने तथा शिक्षा क्षेत्रमा नगरका विद्यालयहरुमा डिजिटल प्रविधि बनाउने योजना अघि सारिएको मेयर बरबरियाले बताए ।
बजेटमा लैंगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वितिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सँचार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वांगिन क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने जनाइएको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस स्टैण्डको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको हो ।
Sponsored
नगरप्रमुख बरबरियाको अध्यक्षता तथा मेयरका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता देबेन्द्र भर्खेरको प्रमुख आतिथ्यमा सौहार्द वातावरणमा नगरसभा सम्पन्न भएको हो । नगरसभामा नगरपालिकाका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनीधि, विभिन्न राजनीतिक दलका नेताहरु, अगुवा एवं समाजसेवीहरुरको उपस्थिति रहेको थियो ।