नागरिकता विधेयक खारेजको माग गर्दै जनकपुरधाममा महिला संघको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।
जनकपुरधाममा लगातार केही दिनदेखि भइरहेको नागरिकता विधेयक विरुद्धको विरोध प्रदर्शन आज पनि भएको छ । विदेशी बुहारीलाई सात वर्ष पछि मात्र नागरिकता दिन आएको विधेयक खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको हो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा महिलाहरुले वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।
जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निकालेको विरोध र्याली जनकपुरधामको विभिन्न चोकमा प्रदर्शन गरेको महिला संघकी केन्द्रिय सदस्य निलम कर्णले जानकारी दिइन् ।
उनले भनिन् पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
Sponsored
नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको नेपाल महिला संघकी क्षेत्रिय सचिव सम्झना वर्माले आरोप लगाइन् । विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिइन् ।