विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।
६ महिना लामो समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ८२ हजारभन्दा बढी संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार ५२२ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ज्यान गुमाउनेको संख्या पनि पाँच लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजारभन्दा बढीको ज्यान गएपछि मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार २९८ पुगेको हो । त्यस्तै ५४ लाख ५८ हजार ३६७ जना उपचारपछि घर फर्किएका छन् भने ४१ हजार २१ हजारभन्दा बढीको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये पनि ५७ हजार ७४८ जनाको अवस्था गम्भीर देखिएको छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ९६ हजार ५३७ पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजारभन्दा बढी थपिएका छन् भने अहिलेसम्म एक लाख २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै १० लाख ८१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै १३ लाखभन्दा बढीको उपचार भइरहेको छ ।
अमेरिकापछि ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार नाघेको छ भने ५७ हजार १०३ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ब्राजिलमा ९९४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म सात लाख १५ हजार ९०५ जनाको सफल उपचार भएको छ भने पाँच लाख ४२ हजार ९३३ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
Sponsored