प्रदेश २ को सिमाहुँदै नेपालमा खतरनाक सलेह किरा छिर्यो, नियन्त्रण नभए भोकमरी हुने
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईका जिल्लाहरुको विभिन्न सिमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको छ ।
‘हिजोअस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पु¥याएको हो,’ मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले भने ।
उनका अनुसार यो फट्याङग्राको बथान नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो विषयमा अध्ययन भइरहेको छ ।
केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार(प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ ।
Sponsored
यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।
यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो ।
भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् ।
एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।
यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजकसमेत रहेका हुमागाईले जानकारी दिए । यसैबीच यसै सन्दर्भमा छलफलकालागि मन्त्रालयले आक्सिमिक बैठक समेत डाकेको छ ।