बटेश्वर गाउँपालिका अध्यक्ष राउत लापरवाह , विदेशबाट फर्केकाहरु भोकभोकै भौतारिँदै
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
विदेशबाट आउने आफ्ना गाउँपाबासीलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि बेमतलवी बनेका छन् । भारत तथा अन्य मुलुकबाट आएका आफ्ना नागरिकलाई सीमा सम्बन्धीत ठाउँबाट क्वारेन्टाइनसम्म ल्याउन कुनै चाँसो नदेखाएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
केहिदिन अघि साउँदीबाट फर्केका धनुषा बटेश्वर गाउँपालिका—१ त्रपुरका विजय कुमार महतो स्थानीय सरकारले कुनै वास्ता नगर्दा क्वारेन्टाइनसम्म आउन निकै कष्ट भोग्नु परेको दुखेसो पोखे । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहजै आइपुगेका उनी काठमाडौँबाट जनकपुरसम्मको भोकभोकै यात्रा र जनकपुरबाट क्वारेन्टिनसम्म आइपुग्न झेलेको दुःख सम्झिदा स्वदेशमा समेत अपनत्व महसुस नगरेको बताँछन् ।
मंगलवार राति साउदीबाट उडेका उनी बुधवार विहानै करिब ६ बजे काठडमाडौँस्थित विमानस्थल आइपुगेका थिए । त्यहाँबाट नेपाली सेनाको गाडीमा बुधवार साँझ करिब ८ बजे उनी जनकपुर आइपुगे । मंगलवार दिउँसै खाना खाएर एयरपोर्ट हिँडेका विजय बुधवार रातिसम्म भोकभोकै थिए ।
‘हातमा न नेपाली रुपैँया थियो न बाहिर निस्किने अनुमती । भोकै प्यासै गाडीमा जनकपुरसम्म आए । घरमा बुवालाई क्वारेन्टिनसम्म पुर्याउने व्यवस्था मिलाइदिन भनेको थिएँ तर बुवालाई मेयरले पैदलै हिडेर आउन भनेछ,’ उनले भने । भोकभोकै बसिरहेका उनी राति करिब ८ बजे क्वारेन्टिनसम्म करिब २५ किलोमिटर पैदलै आउनुपर्ने सुनेपछि निरास भए ।
विदेशबाट फर्केकालाई क्वारेन्टिनसम्म ल्याउने जिम्मा स्थानीय तहको रहेको सुनेपछि उनका बुवा मंगल महतो स्थानीय नेताहरुसँग सम्पर्क नगरेका होइनन् । तर ती नेताहरुले गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई फोन गर्दा पैदलै हिडेर आउन भनेको उनले सुनाए ।
‘हामीसँग गाडी छैन् । कि पैदलै हिडेर आउन भन्नु कि आफैले कुनै गाडी पठाउनु अनि ल्याउनु भनेर गाउँपालिका अध्यक्षले भनेपछि दिनभरी भौतारिए तर विदेशबाट आएको भन्दा एम्बुलेन्सले मानेन्,’ उनले गुनासो पोख्दै चुनावको बेला सम्झिए, ‘चुनावमा खुट्टै ढोग्न आएका थिए । तर काम परेकोबेला कुनै मतलब गरेनन् । पश्चताप आउँछ यस्ता नेतालाई जिताएर ।’
गाउँपालिकाले नल्याइदिएपछि अलपत्र परेका विजयलाई क्वारेन्टिनसम्म ल्याइदिन उनका बुवा मंगलले चिनजान र आफन्तलाई हार गुहार लगाउँदै गए । नेपाली सेनाले ल्याएर राखेको ठाउँमा बास बस्न नदिएपछि जसोतसो राति २ बजे गाडी भाडा गरेर विजय काली जनज्योती माविको क्वारेन्टिनसम्म आइपुगे ।
Sponsored
र त्यो रात समेत उनी भोकै सुते । भारतको तामिलनाडुबाट फर्केका वडानम्बर १ कै स्थानीय राम कुमार महतो समेत भिठामोड नाकासम्म आइपुगेका थिए । तर गाउँपालिका अध्यक्षलाई फोन गर्दा उनले अरु पालिकाको गाडीमा चढेर आ उनु भन्दै पन्छिए ।
नाकामै अलपत्र परेपछि उनी महोत्तरीको भंगहा नगरपालिकाको गाडी चढेर क्वारेन्टिनसम्म आइपुगे । अन्य मुलुकबाट क्वारेन्टिनसम्म आइपुग्न यी दुइ जनाले झेलेको दुःख प्रतिनिधिपात्र मात्र हुन् ।
गाउँपालिका अध्यक्ष राउतले जिम्मेवरीबाट पन्छिदै बेवास्ता गरेपछि वटेश्वर गाउँपालिको क्वारेन्टिनमा बस्न आउने अधिकांस व्यक्ति यस्तै पीडा भोग्न बाध्य भएका छन् । चिनजानको व्यक्तिमार्फत भंगहा नगरपालिकाको गाडीमा आएकाले आफुलाई खासै दुःख नझेल्नु परेपनि बोर्डरमा अन्य व्यक्तिहरुलाई रुवेरै बसिरहेको देखेको स्थानीय रामकुमारले सुनाए ।
‘जसको कोही छैन् उसले कि त भोकभोकै हिडेरै आउनुपर्छ कि बोर्डरमै रुएर बस्नुपर्छ । मजदुरी गरेर फर्किनेहरुलाई मालिकले लकडाउनमा पैसा दिँदैन । खाली हात्त फर्किनु परेको छ । गाडी भाडा कुन पैसाले गर्ने ?,’ उनले थपे । जिल्ला प्रशासन कार्यालय धनुषाले गाउँपालिकाले देखाएको यो उदासिनता दुःखद रहेको बताए ।
‘भारत लगायत अन्य मुलुकबाट फर्किर स्थानीय क्वारेन्टिन पुग्ने व्यक्तिलाई क्वारेन्टिनसम्म ल्याउने र व्यवस्थापन गर्ने स्थानीय तहको जिम्मेवारी छ,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश मिश्रले भने, ‘बाहिरबाट आएको मानिस आफै घरमा पुगेभने त्यसको जिम्मेवारी कसले लिन्छ ? आउँदा आउँदै कतै अन्त्य भागे भने के हुन्छ ? स्थानीय सरकारले उनीहरुको जिम्मेवारी लिनैपर्छ ।’
गाउँपालिका अध्यक्ष राउतले एकाध जनाकालािग गाडीको व्यवस्थापन नगरेको बताए । ‘बोर्डरबाट आउँदा अन्य नगरपालिकाले कोर्डिनेशन गरदिन्छ । हामी उनीहरुकै गाडी चढेर आउन भन्छौँ,’ उनले भने, ‘एकाध जनाकालागि गाडी जाँदैन उनीहरुलाई तपाईँहरु आफैले व्यवस्था गर्नुस भनेर भनदिने गर्याछौँ । हामीसँग साधन छैन । केहीलाई जनकपुरसम्म आउनुस हामी ट्रयाक्टर पठाइहाल्छौँ पनि भन्छौँ ।’ विदेशबाट फर्किने व्यक्तिको बारेमा राज्य पक्षले कुनै जानकारी नदिएकाले समस्या भएको अध्यक्ष राउतको भनाइ छ ।