धनुषामा २० सहित प्रदेश २ मा थपिए १०३ संक्रमित
टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ३ जनामा कोरोना संक्रमित थपिएका छन् । २१ जना महिलासहित १०३ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रौतहटको लक्ष्मीनियाँ–५ स्थित श्री शंकर प्रावि आधारभूत विद्यालयको क्वारेन्टिनका ६ जना महिलासहित २२ जना, ईशनाथ नगरपालिकाका ४ जना महिलासहित २२ जना, धनुषाको मिथिला नगरपालिकाका ३ वर्षीया एक जना बालिका, दुई जना युवती, ८ जना पुरुष, नगराइन नगरपालिकाका ७ जना र बटेश्वर गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सर्लाहीको हरिपूर्वा नगरपालिकाका १ जना, विष्णु गाउँपालिकाका २ देखि २६ वर्ष समूहका ५ जना महिलासहित २० जना, महोत्तरीको गौशाला नगरपालिकाका ५, लोहरपट्टी नगरपालिकाका एक जना महिला र एक जना पुरुष, मनरा सिस्वा नगरपालिकाकी एक महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सप्तरीको बोदे बसाईन नगरपालिका वडा(३ र ५ का १ महिलासहित ४ जना, बिहुल बलान नगरपालिका–३ का दुई जना पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा २ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ ।
Sponsored