TodayPati

मेयर उपमेयर नआएपछि जनकपुरको नगरसभा अबरुद्ध

राजा झा
जनकपुरधाम, असार १० गते ।

बुधबारका लागि बोलाइएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा सुरु हुन सकेको छैन् ।

बुधबार बिहान १० बजे बोलाइएको नगरसभामा स्वयं जनकपुरधाम उपमहानगरका प्रमुख र उपप्रमुख उपस्थित नभएपछि नगरसभा सञ्चालन हुन नसकेको हो ।

मंगलबार बोलाइएको नगरसभा वडाध्यक्षहरुको चर्को विरोधपछि स्थगित भएको थियो तर आज पनि प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र नगरपालिकामा नआएपछि परिषद् सुरु हुन सकेको छैन।

Sponsored

जनकपुरधाम उपमहानगरको पाँचौ नगरसभा मंगलबार बिहान ८ बजे बोलाइएकोमा नगरसभासदको गणपुरक संख्या नपुगेपछि बुधबार १० बजे पुनः नगरसभा बोलाइएको थियो । तर बुधबार पनि अहिलेसम्म नगरसभा सुरु हुन सकेको छैन । असन्तुष्ट वडाध्यक्ष, वडासस्यहरुले नगरसभा सञ्चालन हुन नदिनको आज पनि हस्ताक्षर गरेर दबाब दिइरहेका छन् ।

आज कुल १ सय ३३ सदस्य रहेकोमा ६८ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन् । मंगलबार समेत ७४ जनाले विपक्षमा हस्ताक्षर गरेका थिए । नगरसभा सञ्चालन गर्नको लागि बहुमत हुनु पर्नेमा प्रमुख साहको पक्षमा बहुमत नरहेकोले प्रमुख र उपप्रमुख नआएको जनाइएको छ ।

नगरप्रमुख साहले कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन गर्न नदिई सोझै पारित गर्न लागेको र जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न दबाब दिइरहेकाले नगरसभा हुन नदिन वडाध्यक्षहरु दुई दिन देखि धर्नामा बसेका छन् ।

Sponsored

प्रत्येक वर्ष उपमहानगरको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकोमा आफूहरुलाई उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा नगर प्रमुख साह तानशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप छ ।

यसअघि सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै घम्साघम्सी भएको थियो भने माइन्युट समेत च्यातिएको थियो। सो क्रममा बैठकस्थलमा कुर्सीसमेत तोडफोड गरिएको थियो ।

वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण र नीति तथा कार्यक्रममाथि जबर्जस्ती हस्ताक्षर गराउन खोजेपछि आक्रोशित भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *