राजश्व अपचलन गरेको अभियोगमा बर्दिवास उपवितरण केन्द्रका इञ्चार्जसहित ८ जनाविरुद्ध मुद्दा
टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दिवास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित ८ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ ।
आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २ सय ७२ रुपैयाँ, प्राधिकरणका कर्मचारी अरविन्दप्रसाद जयसवालविरुद्ध ४ लाख ७५ हजार ४६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध ५३ हजार ८२१ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यस्तै, कर्मचारी चन्द्रभूषण महत्तो ४ लाख ६ हजार १ सय ३९ रुपैयाँ, धर्मेन्द्रकुमार महतो ६६ हजार ८३७ रुपैयाँ, अजितमान सिंह २२ हजार ८१३ रुपैयाँ, स्मिता कट्टेल ७ लाख ७४ हजार १०४ रुपैयाँ, अञ्जुकुमारी बस्नेत १२ हजार रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
Sponsored