जनकपुरधामका मेयर र उपमेयको राजीनामा माग
टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।
नेपाली काँग्रेसले जनकपुरधाम उपमहानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर परिषदको पूर्व संध्यामा कार्यपालिका सदस्यहरुमाथि भएको हातपात र दुव्र्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाली काँग्रेस जनकपुरधाम नगर समितिले मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रकी राजीनामाको माग गरेका हुन् ।
स्थानिय तह सञ्चालन ऐन अनुरुप नगर परिषद बैठकभन्दा २४ घण्टा पूर्व प्रस्तावहरु कार्यपालिकाका सदस्यहरुलाई जानकारीको लागि उपलब्ध गराउनु पर्नेमा दुवैले कानून विपरित आफु अनुकुल नगर परिषद् सञ्चालन गर्न खोजेपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले त्यसको विरोध जनाएको थियो ।
मेयर साहले विगत जस्तै एकलौटी ढंगबाट स्थानीय तह सञ्चालन ऐन विपरित नगर परिषद् गराउँदै आइरहेकोमा यस वर्ष पनि सोही अनुकुल नगर परिषद् सञ्चालन गराउन खोज्दा केहि सदस्यहरुबाट विरोध हुँदा हातपातको अवस्था सृजना हुनु दुःखद रहेको नेपाली काँग्रेसका नगरसभापति मनोज कुमार साहले बताए ।
Sponsored
साहले प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको निन्दा गर्दै उपमहानगरका मेयर र उपमेयरको राजीनामाको माग गरेका छन् ।
यसअघि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरसभाको विरोध गर्दा उपमहानगरपालिकाले बहुमत जुटाउन नसक्दा नगरपरिषद् आजको लागि स्थगित गरी पूनः बुधवार नगरसभा बोलाएको छ ।