TodayPati

जनकपुरमा मन्दिर तोडेपछि स्थानीयको विरोध

राजा झा-
जनकपुरधाम, असार ७ गते ।

जनकपुरधामस्थित एक मन्दिरमा तोडफोड गर्दा स्थानीयले विरोध गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित रहेको नुनिया कुट्टी तोडफोड गरि एकजनाले सार्वजनिक जग्गामा कब्जा जमाउन थालेपछि स्थानीयले विरोध गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका ५ का प्रेमबाबु साहले डोजर मगाएर कुट्टी तोडफोड गर्न थालेपछि स्थानीयले विरोध जनाएपछि तनाव उत्पन्न भएको थियो । मन्दिर तोडेर सो जग्गामा आफ्नो व्यक्तिगत घर निर्माण गर्न थालेको थाहा पाएपछि आफुहरु विरोध जनाएको अजयकुमार गुप्ताले जानकारी दिए ।

प्रेमबाबु साहले प्रहरी मगाएर कुट्टीको जग्गामा रहेको पसल र हनुमान मन्दिर डोजरले भत्काइरहेको देखेपछि आफुहरु त्यहाँ पुगेको उनले बताए । वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले पनि यो जग्गा कुट्टीको रहेको र सटरहरु किन र कसको आदेशमा भत्काएको हो भनेर प्रश्न गर्दा प्रोमबाबुले प्रहरी बोलाको बताए ।

Sponsored

प्रहरी त्यहाँ पुगेपनि मुकदर्शक बनेर बसेको उनको आरोप छ । प्रेमबाबुको ईशारामा हनुमान मन्दिरलाई डोजरले भत्काउन थालेपछि स्थानीयले डोजरमा समेत तोडफोड गरेका थिए। डोजर पूर्णरुपमा क्षति भएको हो ।

तोडफोडको विरोधमा स्थानियवासी उत्रेपछि प्रहरीले महाविर युवा कमिटीका पुर्व अध्यक्ष सुनिल कुमार प्रसाद, महासचिव राजा भगत,पुर्व महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो सहितकालाई नियन्त्रणमा लिएको छ ।

यता, जग्गाधनी भनिने प्रेमबाबुले आफ्नो करोडौं मुल्य बराबरको जग्गा नुनिया कुट्टीले हड्प्ने प्रयास गरेको दाबी गरेका छन् । उनले जग्गाको सम्पूर्ण प्रमाण आफूसँग रहेको बताए ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित कित्ता नम्बर १२ को ३ कट्ठा १६ धुर जग्गा मध्ये दक्षिण पूर्वतर्फबाट २ कट्ठा ५ धुर नुनिया कुट्टीको नाममा र १ कट्ठा ११ धुर किशोरीदेवी पौडेलको नाममा थियो । पछि किशोरीदेवीले २०६१ सालमा जिल्ला अदालत धनुषामा मुद्दा दायर गर्दा अदालतले जग्गा नुनिया कुट्टीको रहेको फैसला सुनाएको थियो ।

किशोरीदेवीको चित्त नबुझेपछि उनी पुनरावेदन पुगिन् र पुनरावेदनले जिल्ला अदालतको फैसलालाई उल्टायो । पुनरावेदनले जग्गा किशोरीदेवीको नाममा रहेको कायम ग¥यो। त्यसपछि त्यो मुद्दा सर्वोच्च अदालत पुग्यो । सर्वोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई सदर गरिदियो ।

पुनरावेदन र सर्वोच्चले जग्गा किशोरीदेवीको हुने फैसला गरेपनि नुनिया कुट्टीले आफ्नो अडान नछाडेको प्रेमबाबुले बताए । हाल जग्गाधनी किशोरीदेवीको निधन भइसकेको छ भने उनले निधन भन्दा पहिलेनै उक्त जग्गा आफ्नो छोरा सन्तकुमारको नाममा वारिसनामा गरेकि थिइन् ।

सन्तकुमारले २०७५ बैशाख २६ मा १ करोड १ लाख ११ हजारमा खरिद गरेको प्रेमबाबुले दाबी गरे । पछिल्लो समय जनकपुरधाममा मठमन्दिर तथा अन्य सार्वजनिक जग्गामा धेरैजनाले कब्जा जमाएर बसेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *