विकासका लागि आवश्यक रकम नछुट्याएको भन्दै मेयर साहबिरुद्ध स्थानीयको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम,असार ३ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वडा विकासका लागि आवश्यक रकम नछुट्याएको भन्दै यहाँका स्थानीयले बुधबार उनको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा महिनौदेखि जिर्ण सडक निर्माण गर्न आग्रह गर्दा पनि मेयर साहले कुनै चासो नदेखाएको भन्दै सो वडाका स्थानीयहरूले उपमहानगर कार्यालयको मूल गेट अगाडि नै ‘भ्रष्ट मेयर लालकिशोर साह’ मुर्दावाद भन्दै नारावाजी समेत गरेका थिए । वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साहले भने,‘आफुहरुले मेयर साहलाई पटक पटक सडक निर्माणका लागि ध्यानाकर्षण गराएपनि उनले कुनै ध्यान नदिएकोले आज बाध्य भएर आन्दोलनमा उत्रनु परेको छ ।’
धर्मवान टोल सुधार समितिले सडकमा भएको घर–टहरा खाली गराऔं,सडकको निर्माण छिटो गरौं,सडक निर्माण गरि जिवन स्वच्छ र सुन्दर बनाउ,टोललाई स्वच्छ वातावरण बनाउलगायतका मागहरु राख्दै उपहमनगरको कार्यालय अगाडी धर्ना केहिबेर समेत दिएका थिए ।
मेयरले नियम कानूनलाई ख्याल नगरी आफूखुशी नगरमा बजेट विनियोजन गर्दै आएको वडाध्यक्ष साहको आरोप छ । उनले नगरस्तरीय बजेट समेत मेयरले आफू अनुकूल छुट्याउँदै वडालाई कुनै ध्यान नदिएको गुनासो सुनाए । आफ्नो वडाको जनघनत्वा बढि रहेकोले सोही हिसाबले बजेट छुट्याउनुपर्नेमा मेयर साहले आफुखुशी निर्णय गरेको साहले बताए ।
वडा विकासका लागि मेयर साहले आवश्यक रकम नछुट्याएको भन्दै भोलीदेखि प्रत्येक वडामा उनीबिरुद्ध वडाबासीहरुले विरोध प्रदर्शन गर्ने बताईएको छ ।
Sponsored