पर्वतका थप १३ जनामा कोरोना पुष्टि
टुडेपाटी-
पर्वत, जेठ ३० गते ।
पर्वतका थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रबार १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २२ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका १९, २३, २९, ३७, ४५, २८, २०, २८ वर्षका र एकजना उमेर नखुलेका गरी नौजना पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जाकारी दिए ।
यस्तै, पैयुँ गाउँपालिकाका २० वर्षीय पुरुष, बिहादी गाउँपालिका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कुस्मा नगरपालिकाका ३५ वर्षीय पुरुषको भने पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्वतमा यसअघि संक्रमण देखिएका नौजनालाई उपचारका लागि सदरमुकाम कुस्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी)को आइसोलेसनमा राखेर उपचार गरिँदैछ। शुक्रवार थपिएका १३ जनालाई पनि सोही अस्पतालमा भर्ना गरेर उपचार गर्ने तयारी थालिसकिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।
Sponsored
संक्रमित २२ जनामध्ये २१ जना लकडाउनकै अवधिमा भारतबाट फर्किएका हुन् । मणिपाल शिक्षण अस्पतालमा उपचाररत पुरुषको बारेमा भने बुझ्ने काम भइरहेको डा. देवकोटाले जानकारी दिए ।