भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनकपुर लगायत प्रदेशभर सरकारविरुद्ध प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
कोरोना महामारीकाबीच पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदेश नम्बर २ को विभिन्न स्थानमा सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले लकडाउनकाबीच कर बुझाउन भनेको, स्वास्थ्य सामाग्री खरिदमा कोरोना महामारीबीच भ्रष्टाचार तथा कमिशन उठाउन व्यस्त रहेको, नेताहरु अहिले पनि विलासी जीवनमै मस्तव्यस्त रहेको लगायत आरोप लगाउँदै युवाहरुले प्रदेशको विभिन्न स्थानमा सरकाविरुद्ध प्रदर्शन गरेका हुन् ।
युवाहरुले सामाजिक दुरी कायम गर्दै प्ले कार्डमा नारा लेखेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । जनकपुरधामको जनक चोकमा जम्मा भएका यूवाहरु तीन वटै तहका सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले जनतालाई छैन सरकारको आशा, सरकारलाई चाहियो जनताको लाश, कार्पेट हैन सोच बदलौँ, पैसा छैन गोजीमा सरकार करको खोजीमा लगायतका नाराहरु लेखिएको प्ले कार्ड युवाहरुले बोकेका थिए ।
सरकारले लकडाउन लगाएको ८० दिन पछि पनि क्वारेण्टाइन तथा आइसोलेसन व्यवस्थापन, गरिब मजदुर वर्गका लागि राहतको व्यवस्थापन लगायतमा सरकार असफल साबित भई रहेपनि भ्रष्टाचारमै सरकार लिप्त रहेकोले आफूहरु सरकारविरुद्ध प्रदर्शनमा ओर्लेको युवा राकेश विक्रम साहले बताए ।
उनले भने ‘महामारीको बेला पनि सरकार कमिशन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रह्नु दुःखद रहेको छ ।’ सरकारले अति गरिसक्यो अब यो सरकारको अन्त्य निश्चित छ भन्दै युवा सरोज कुमार मिश्रले भने ‘सरकार लाई सही बाटोमा ल्याउनका लागि हामी जनकपुरधामका युवा तथा युवा व्यवसायीहरु प्रदर्शनमा उतरेका हौँ, सरकार नसच्चिएसम्म हाम्रो बिरोधका कार्यक्रमहरु जारी रह्नेछ ।’
यता नेपाली काँग्रेसका कार्यकर्ताहरु महोत्तरीको जलेश्वरमा आधा घण्टा सरकारविरुद्व मौन धर्नामा बसेका छन् । देशमा रहेका तीनै तहका सरकारले कोरोनाबाट नागरिकलाई जोगाउनका लागि ठोस निती अवलम्वन नगरेको भन्दै विहीबार विहान उनीहरु जलेश्वरमा धर्ना दिएका हुन् ।
Sponsored
भिटठामोड जनकपुर सडकखण्ड अन्र्तगत पर्ने जलेश्वरको शंकर चौकमा स्थानीय वजरंग नेपालीको नेतृत्वमा धर्नामा बसेकाहरु हात हातमा प्याले कार्ड लिएका थिए । कोरोना महामारीको समयमा सरकारले व्यवस्थापनमा चुकेको भन्दै सरकारको विरोधमा मौन धर्नामा युवाहरु बसेका थिए ।
बारा जिल्लामा समेत सरकारविरुद्ध प्रदर्शन गरेका छन् । कम्तीमा एक घर एक पीसीआर टेस्टको माग गर्दै युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले बाराको फेटा गाँउपालिका वडा नम्बर १ मा भलुही चोकमा विभिन्न नारा सहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका छन् । त्यस्तै वीरगंजमा पनि सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।