सहीद दुर्गानन्द झा स्मृति अस्पताल मर्मत र सडक ढलानमा नगराइन नगरपालिकाको अवरोध
टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।
धनुषाको नगराइन नगरपालिकास्थित स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत हुन लागेको विकास निर्माणमा नगरपालिकाले अवरोध गरेको छ ।
साविकको योजना परिवर्तन गरी वडानम्बर—२ स्थित जटहीमा निर्माण गर्न लागिएको सहीद दुर्गानन्द झा स्मृति अस्पतालको अधुरो बाउण्ड्री वाल र सभाहलाको मर्मतकार्य र पिसीसी ढलान सडक निर्माण नर्गन भन्दै कार्यपालिकाको बैठकबाट निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीकाबीच मुलुकको अधिकांस ठाउँमा सावधानी अपनाएर विकासे योजना संचालन भइरहँदा नगराइन नगरपालिकाले महामारीको कारण देखाउँदै गत जेठ २४ गतेको कार्यपालिका बैठकबाट ५० लाख रुपैँयाको यी दुबै योजना संचालन नगर्ने निर्णय गरेको हो ।
‘कोरोना भाइरस संक्रमण महामारी विशेष परिस्थितीमा समाजिक दुरी तथा स्वास्थ्य सावधानी अपनाइ हाल योजना संचालन गर्न नसकिने कार्यपालिकाबाट निर्णय भएकाले निर्णय अनुसार जानकारी गराइएको व्यहोरा अनुरोध छ,’ नगरकार्यपालिकाको निर्णयमा भनिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका—७ स्थित मिथिला संस्कृति अध्ययन केन्द्रको भवन निर्माणकालागि भनिएको ५० लाख रुपैँयाको योजना परिवर्तन गरी सहीद दुर्गानन्द झा स्मृति अस्पतालको अधुरो बाउण्ड्री वाल र सभाहलाको मर्मत गर्न ३० लाख, जटहीमै उदय झाको घरदेखि मुसहरी टोल पिरौन सडकखण्डको पिसिसी ढलान २० लाख रुपैँयाको योजना दिइएको छ ।
Sponsored