बिना धितोकै वैदेशिक रोजगार कर्जालाई निरन्तरता दिनुपर्नेमा जोड
टुडेपाटी –
जनकपुरधाम, माघ २९ गते ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगारका लागि दिइने कर्जालाई निरन्तरता दिन जोड दिएको छ । प्रदेश सरकारले विभिन्न सेवाप्रदायक संस्थासंग सम्झौता गरी बिना धितो र निव्र्याज दिन सुरु गरेको वैदेशिक रोजगार कर्जालाई निरन्तरता दिन संस्थाले जोड दिएको हो ।
केन्द्रले गएको २०७५ असार ६ गते मुख्यमन्त्री लालबाबु राउतलाई बैदेशिक रोजगारी सम्बन्धि विभिन्न १६ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । आइतबार केन्द्रले एक बैठक बसी केही माग पुरा गरेकाले मुख्यमन्त्री राउतलाई धन्यवाद ज्ञापन गरे । पुरा भएको मागलाई केन्द्रले निरन्तरता दिन जोड दिँदै बाँकी माग पनि पुरा गर्न प्रदेश सरकारले ध्यानकर्षण समेत गराएको छ ।
वैदेशिक रोजगार सम्बन्धी काम गर्ने गैर इजाजतवाला एजेन्टहरुमाथि कारवाही गर्न, बैदेशिक रोजगार विभाग र प्रवद्र्धन बोर्ड अन्तरगत दिइने सेवा सहज गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई निव्र्याज तथा बिना धितो ऋण दिन, वैदेशिक रोजगारमा जाने युवाहरुको लागि शिपको व्यवस्था गरी ४ माग सरकारले सम्बोधन गरेको संस्थाले जनाएको छ ।
संस्थाले बाँकी माग पनि प्रदेश सरकारले छिट्टै पूरा गर्ने विश्वस्त रहेको जनाएको छ ।
Sponsored