सप्तरीमा कोरोना नियन्त्रण गर्न करोडौं भ्रष्टाचार गरेको आरोप
शुभ नारायण यादव-
सप्तरी, जेठ २७ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपालमा संक्रमितको संख्या चार हजार नाघेको छ । यसैबीच सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा व्यापक आर्थिक अनियमितता भएको रहस्य खुलेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत समेत मिलेर मनपरी रकम अनियमितता गरेको आरोप गाउँपालिकाकी उपाध्यक्ष सुचिताकुमारी यादवले लगाएकी छन् ।
यस गाउँपालिकाले विकास निर्माणको काममा समेत व्यापक रुपैयाँ अनियमितता गरेको आरोप उपाध्यक्ष यादवले लगाएकी हुन् । त्यस्तै गाउँपालिकाले अधिकांश विकास निर्माण लगायतका योजनाहरु गोप्य सूचना निकालेर विकास निर्माणको कार्यमा समेत आर्थिक अनियमितता भएको ठहर उपाध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै गाउँपालिकाले कोरोना नियन्त्रणदेखि लिएर अन्य कामको लागि समेत करार कर्मचारीलाई लाखांै रकम नियम बिपरीत खर्च गर्ने गरको छ भने ती करार कर्मचारीलाई गोप्य रुपमा बिना काम के रकम समेत निकासा दिएको पाइएको छ । सो बिषयलाइ लिएर पटक पटक अनियमितता रोक्नका लागि लिखित रुपमा ध्यानाकर्षण गराएपनि गाउँपालिकाले हालसम्म कुनै जानकारी नभएको भन्दै अविलम्ब तीन दिन भित्र आफ्नो जायज मागहरु पूरा नभएको खण्डमा गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गर्ने गाउँपालिकाकी उपाध्यक्ष यादवले चेतावनी समेत दिइन् ।