TodayPati

प्रदेश २ का सांसदहरु सरकारको रबैयाप्रति आक्रोशित, मुख्यमन्त्री कार्यालयमा ताला लागाउने

टुडेपाटी समाचारदाता
जनकपुरधाम, माघ २८ गते ।

प्रदेश २ मा गत वर्ष सम्पन्न भएका योजनाको भुक्तानी दिन माग गर्दै सांसदहरूले प्रदेश सरकारलाई ५ दिनको अल्टिमेटम दिने भएका छन्। पटकपटक प्रदेशसभा अवरुद्ध गर्दै आएका सांसदहरूले ५ दिनमा भुक्तानी नदिए मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्ने तयारी थालेका हुन्।

सभामुख सरोज यादवको संयोजकत्वमा अनुगमन तथा मूल्याङ्कनका लागि गठित संसदीय समितीले स्थलगत अनुगमन र मूल्याङ्कनपछि भुक्तानीका लागि संसदबाट दिएको निर्देशन कार्यन्वयन गर्न भन्दै सांसदहरूले तालाबन्दी गर्ने तयारी थालेका हुन्। सभामुख यादवसँग प्रदेशसभामा छलफलपछि सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ५ दिनको अल्मिेटम दिँदै तालाबन्दी गर्ने निर्णयमा पुगेको राजापाका सांसद विक्की यादवले जानकारी दिए।

Sponsored

ऋण लिएर काम गरेका उपभोक्ता समितीहरूले समयमा भुक्तानी नपाउँदा चर्काे ब्याज तिर्नुपरेको जनाउँदै प्रतिपक्षीका साथै सत्तारुढ सांसदहरूले समेत मुख्यमन्त्री र मुख्यसचिवको कार्यालयमा तालबन्दी गर्ने उनको भनाइ छ। ‘जनता पीडित भएपछि उनीहरूलाई साथ दिनु हाम्रो कर्तब्य हो। जनताले हामीलाई लखेट्न थालेका छन्,’ उनले भने।

विकल्पको खोजीमा प्रदेश सरकार

प्रदेश २ मा गत आर्थिक वर्षमा सम्पन्न गरिएका ८ सय ४२ वटा योजनाको योजनाहरूको ८७ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ। भुक्तानी नहुँदा सांसदले प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका छन् भने बाहिर उपभोक्ता समितीले प्रदर्शन गर्दै आएका छन्। भुक्तानी नपाउँदा आक्रोशित उपभोक्ता समितिका सदस्यहरूले यसअघि पटक-पटक मुख्यमन्त्री तथा मन्त्रीहरूको तस्बिर भएको ब्यानरमा जुत्ता प्रहार गर्ने काम समेत गरेका छन्। तर, भुक्तानी हुने छाँटकाँट अझै देखिएको छैन।

Sponsored

कानुनसम्मत तरिकाले भुक्तानी गर्न नमिल्ने भएपछि प्रदेश सरकार अहिले विकल्पको खोजी गरिरहेको छ। मुख्यमन्त्री लालबाबु राउतसमेत विभिन्न कार्यक्रममा पटक-पटक उपभोक्ताहरूको बक्यौता रकम भुक्तानीका लागि प्रयासरत रहेको बताउँदै आइरहेका छन्। प्रदेशसभाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मन्त्रीहरूले योजना खल्तीमा राखेका कारण भुक्तानी समस्या निम्तिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। यद्यपि मन्त्रीहरूले कर्मचारीहरूको असहयोगका कारण भुक्तानी हुन नसकेको बताउँदै आइरहेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *