सिरहा प्रहरीले एकैदिन रोक्यो ३ बालविवाह जोडी
टुडेपाटी-
सिरहा, माघ २८ गते ।
सिरहा प्रहरीले एकैदिन तीन बालविवाह जोडी रोकेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको कर्जन्हा नरपालिका–६ वेतहाका रिझन मुखियाकी १५ वर्षिय छोरी रन्जुको विवाह रोकिएको हो । उनको विवाह यदुकुहा नगरपालिका सिमराढी, धनुषाका अजय मुखियासँग हुन लागेको थियो ।
विवाहका तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बोहरा मण्डलको छोरीको विवाह पनि रोकिएको छ । विशेष सूचनाको आधारमा प्रहरी मण्डलको घर पुगेपछि उनको छोरीको उमेर नपुगेकाले विवाह रोकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।
प्रहरीले उनीहरुको अभिभावलाई बालविवाह कानुनिरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको प्रहरी नायव उपरीक्षक जयसवारको भनाइ छ ।
प्रहरीले कार्यालयमै अभिभावकलाई बोलाई उनिहरुलाई अव उपरान्त बालविवाह नगर्ने नगराउने विषयमा सहमती पश्चात आवश्यक प्रकृया पुर्याएर घर पठाइएको डिएसपी जयसवारले बताए ।
नेपालको कानुनले २० वर्षभन्दा पहिला विवाह गर्न बन्देज गरेको भएपनि तराईमा अझै बालविवाह हुँदै आएको छ । बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएका दलित विकास मञ्च, कल्याणपुरका कार्यक्रम संयोजक सरिता महराले तराईमा व्यवहारमै बालविवाह रोक्न अझै कठिन रहेको जानकारी दिएका छन् ।
उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाईने, केटा पाईहालेपनि धेरै दहेजदिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह हुनेगरेको महराले बताए । । उनले भने, ‘हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयहरुमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बाल बालिकाहरुविच सचेतिकरणका कारण बालविवाहमा न्यूनिकरण आएपनि अझै समाप्त हुन सकेको छैन ।’
रन्जुकी आमा सुनितादेवी मुखियाले आफूहरुलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाए । उनले भने, ‘हामीलाई विवाहको लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, राम्रो घर पाएको र दहेजपनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौं ।’
Sponsored