TodayPati

महोत्तरीका अनिल सहित १ सय ५३ जना नेपाली कामदारको शव विदेशमै रोकियो, कहिले आउने ?

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

महोत्तरीको औरही गाउँपालिकाका अनिल चौधरी सहित वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमै रोकिएको छ।

वैदेशिक रोजगारीमा पुगेका २३ जना नेपालीको कोरोना संक्रमणबाट र बाँकीको अन्य कारणले मृत्यु भएको छ । तर कोरोना महामारी नियन्त्रणका गर्न लगाइएको लकडाउनका कारण विदेशबाट कामदारको शव ल्याउन सकस परेको छ ।

Sponsored

मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका १ सय ५३ जना नेपालीको शव अहिलेसम्म ल्याउन सकिएको छैन। वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा ५, ओमनमा १ र अन्य मुलुकमा चार नेपालीको शव रोकिएको छ।

साउदी अरबमा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु भएको तथ्यांक छ। यसबीचमा त्यहाँ ५७ पुरुष र १ जना महिला गरेर ५८, युएइमा ५१ पुरुष र ४ महिला, मलेसियामा ५२ पुरुष, कतारमा ३६ पुरुष र १ महिला, कुवेतमा ६ पुरुष र ५ महिला, बहराइनमा ७ पुरुष, दक्षिण कोरिया ५ पुरुष, ओमनमा १ पुरुष र अन्य मुलुकमा ११ पुरुष र १ महिलाको मृत्यु भएको छ।

त्यसैगरी, अनौपचारिक स्रोतबाट बोर्डले संकलन गरेको तथ्यांकअनुसार सेसेल्समा १, टर्कीमा १, अमेरिकामा २, बंगलादेशमा १, थाइल्याण्डमा १, कम्बोडियामा १, साइप्रसमा १, जोर्डनमा १, जापानमा १, इराकमा १ र मंगोलियामा १ जना नेपालीको मृत्यु भएको छ।

Sponsored

मृत्यु भएका कसैको पनि शव नेपाल ल्याउन सकिएको छैन। परिवारको सहमतिअनुसार हालससम्म ८५ जनाको अन्त्येष्टि सम्बन्धित मुलुकमै गरिएको छ। मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना प्रवासी नेपालीको विदेशमै अन्त्येष्टि गरिएको हो। साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको मृत्यु भएको हो।

कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाहरुको शव विमान चार्टड गरेर ल्याउने व्यवस्था भएकोले सबै शव क्रमिक रुपमा ल्याउने वैदेशिक रोजगार बोर्डका निर्देशक राजेन्द्र श्रेष्ठले जानकारी दिए। मृतकको घरसम्म शव पुर्‍याउनका लागि वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने पनि उनले जानकारी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *