लकडाउनको मोडेल परिवर्तन हुँदै, यस्तो छ व्यवसायीहरुको सुझाव
टुडेपाटी-
काठमाडौँ, जेठ २१ गते ।
सरकारले लकडाउन खुकुलो बनाउदै मोडेल परिवर्तन गर्ने भएको छ ।
लकडाउनका कारण किसान, उद्योगी, व्यवसायी अत्याधिक मारमा परेकाले लकडाउनको मोडेल परिवर्तन गर्न व्यापक आवाज उठेपछि सरकारले लकडाउनको मोडेल परिवर्तन गर्न लागेको हो ।
यसकालागि सरकाले विभिन्न पक्षहरुसँग छलफल समेत सुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडल परिवर्तन गर्न निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो ।
छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग संञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।
उनीहरुले लकडाउन लम्बिदै जाँदा उत्पादन, बजार, उत्पादन कार्यमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुलुलो पारेर क्षेत्रगत वर्गिकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिए । उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताए ।
Sponsored
उहाँले जोखिमको तह र क्षेत्रलाई वर्गिकरण गरि विस्तारै लकडाउन खुकुलो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउन आफुहरुले सुझाव दिएको र समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसंग छलफल गरि निर्णय गर्ने आवश्वास दिएको बताए ।
त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायतले जोखिम मुल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लडाउन खुल्ला गरि उद्योगधन्दा संञ्चालनको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका थिए ।
चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले लकडाउन लम्बिदै जाँदा जबरजस्ती उद्योग खोल्ने र सधैका लागि बन्द गर्ने दुईथरीको व्यापारी देखिएको बताए ।
उनले सरकारले ४२ प्रकारका उद्योग संञ्चालन हुने भनेपछि आवश्यक पास उपलब्ध नहुनु, राजधानी बाहिर गएका कामदार फर्कने व्यवस्थाको साथै उत्पादन विक्रिका लागि बजार बन्द हुँदा उद्योग संञ्चालन हुने वातावरण नभएकाले समय निर्धारण गरेर विषयगत व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सुझाव दिएको बताए ।
यस्तै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उद्योगधन्दा संञ्चालन संगै सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दुरी कायम गरि संञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएको बताए ।
यातायातका सवारी साधन ७१ दिनसम्म ग्यारेजमा राख्दा विग्रन, व्याटी खराब हुने लगायत समस्या देखिने गरेको तथा कोरोना प्रभावितका लागि सरकारले घोषणा गरेको ऋण लगायतको राहत प्याकेजमा यातायातको विषय प्रष्ट नभएकाले स्पष्ट पार्नुपर्ने आवश्यकतातर्फ आफुले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको जानकारी दिए ।