भोककै कारण धनुषाको जटही नाकामा मृत्यु भएको भनिएका युवकमा देखिएन कोरोना
टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।
भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा भोकको कारण मृत्यु भएका युवकको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ । बुधबार बिहान साढे ७ बजे जटही नकामा मृत्यु भएका धनुषाको सहिदनगर नगरपालिका ९ का ३० वर्षीय विरेन्द्र यादवको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
भारतको गुजरातबाट घर फर्किने क्रममा भोकै ६ दिन पैदल हिडेको कारण यादवको मृत्यु भएको उनका सहकर्मीहरुले दावी गर्दै आएका छन् । उनका सहकर्मीहरुका अनुसार मंगलबार राति भारतीय प्रशासनले ट्रकमा चढाएर उनीसहित झण्डै डेढसय नेपालीलाई जटही बोर्डरमा छाडेका थिए । बिहान सशस्त्र प्रहरीले च्युरा चाउचाउ खाँदा तत्कालै वान्ता भई यादवको जटही नाकामै मृत्यु भएको थियो ।
भोकै उनको मृत्यु भएको भन्दै भारतबाट फर्किएपछि नाकामा रहेका दुईसयभन्दा बढी नेपाली सरकार विरुद्ध प्रदर्शन गरेका थिए । मृत्युपछि प्रशासनले कोरोना परिक्षण गर्न जटही नाकाबाट उनको शव नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याई स्वाब नमूना लिइएको थियो ।