जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए
टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीबार निको भएर डिस्चार्ज भएका हुन् । जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पत्रकार रमण पहिलो व्यक्ति हुन् ।
गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।
पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको चिकित्सक रविरञ्जन प्रसादले जानकारी दिए ।
Sponsored
चिकित्सक रविरञ्जनलेपत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको बताए ।
कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत स्वरूप फुलमाला लिएर अस्पताल पुगेका थिए ।
पत्रकारहरुले आफ्नो स्वेच्छाले कोरोना परीक्षण गराउँदा पत्रकार रमण र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।