सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवती महिलाको मृत्यु, कोरोना परिक्षण गरिँदै
शुभ नारायण यादव-
सप्तरी , जेष्ठ १३ गते ।
होम आइसोलेसनमा रहेकी सप्तरीकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ११ की अन्दाजि २५ वर्षीया ती गर्भवती महिलालाई गएराति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
विगत १० दिन अगाडि नै ती महिलालाई अचानक ज्वरो आएको थियो । ज्वरो १००.२ डिग्री आएको र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत जेठ ८ गते राजविराज स्थित डा. विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।
स्वास्थ्य प्रमुख यादवका अनुसार उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।
यता २ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । यसेबिच सो घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कायाृलय सप्तरीले जनाएको छ ।
मृतक महिलाको स्वाब लिएर कोरोना परिक्षण गर्ने तयारी गरेको छ ।
Sponsored