TodayPati

शैलेन्द्र क्रान्ति
जनकपुरधाम, असोज २४ गते ।

जनकपुरमा छुरा प्रहार युवको ज्यान लिने घटनाका आरोपी गुण्डा भनिने मोहम्मदईर्साद खान पटक पटक अपराध गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार उनले आठ महिना भित्र उनले चारजनामाथि छुरा र धारिलो हतियार प्रहार गरेका छन्, जसमा एकजनाको मृत्यु नै भएको छ ।

जनकपुरधाम उपमहानगरपालिक ५ जानकी मन्दिर पछाडि घर भएका २२ वर्षीय ईर्साद निरन्तर साइवर अपराध गर्दै आएका छन् । सामाजिक संजालमा एक अर्का सामुदामाथि लक्षित गरी हिंसा तथा घृणा फैलाउने जस्ता तु्च्छ शब्द प्रयोग गरी गालीगलौज गर्ने, हातहतियार प्रदर्शन गर्ने काममा सक्रिय छन् ।

लागूऔषध सेवनकर्तासमेत रहेका अराजक ईर्साद पटक पटक अपराध तथा सामाजिक संजालबाट खुलेआम घृणा फैलाउने काममा सक्रिय भएपनि प्रहरीले पक्राउ गर्न चाहेको थिएन । र फेरि दुःखद घटना हुन पुगेको छ ।

बिहीबार साँझ करिब सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका ५ जानकी मन्दिरको छेउको रहिमपथमा छुरा प्रहारबाट सोनारपट्टी, दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको हत्या भयो । छुरा प्रहारबाट अर्का २५ वर्षीय ईम्तियाज राइन गम्भीर छन् । घाइते ईम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बिहीबारको घटना लगतै प्रहरीले ईर्साद र उनकी आमा ४२ वर्षीया सैमुख खातुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

छुरा प्रहार गर्ने ईर्साद टिकटकर हुन् । उनले टिकटकमा ‘गुण्डा’ र फेसबुकमा एमडी इर्साद खान एकाउड खोलेर अर्का समुदायलाई लक्षित गरी घृणा, हिंसा, गालीगलौज गर्ने जस्ता अपराध प्रोत्साह गर्ने गरी दर्जनौ भिडियोहरु बनाएका हुन् । उनलाई पक्राउ गरेर कानुनी कारबाही गर्न पहिलेदेखि नै माग उठिरहेपछि प्रहरीले बेवास्ता गरेका छन् ।

मुस्तफालाई बोलाएर खुकुरी प्रहार

यसअघि मात्रै ईर्सादले २०८२ फागुन ३ गते र गत २०८३ जेठ ७ गते खुकुरी प्रहार घटना गरेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार फागुन ३ गते जनकपुरधाम उपमहानगरपालिका १४ रजौल बस्ने २६ वर्षीय मो. मुस्तफामाथि खुकुरी प्रहार गरेका थिए । बकरईदको दिन ईर्सादले मुस्तफालाई नै घरमा बोलाएका थिए । ईर्सादले पसलमा लगेर मुस्तफामाथि खुकुरी प्रहारको प्रयास गरेका थिए । त्यस क्रममा मुस्तफाले प्रतिवाद गरेपनि खुकुरी उनको बायाँ हातमा लागेर घाइते भएका थिए ।

त्यस घटनामा मुस्तफाको जाहेरीले २०८२ चैत १२ गते जिल्ला प्रहरी कार्यालय धनुषाले ईर्सादमाथि ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो । त्यस मुद्दामा ईर्सादलाई पक्राउ जिल्ला अदालत धनुषाले असार ३१ गते नै पक्राउ स्वीकृति दिएको छ ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले जानकी प्रहरी चौकीलाई साउन १८ मा पक्राउ गर्न पत्राचार गरेको थियो । ‘वादी नेपाल सरकार प्रतिवादी मो. ईरसाद मिया खान भएको ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका वडा नं.५ जानकीनगर टोल बस्ने जाकिर मिया खानको छोरा अं. वर्ष ३६ को मो. ईरसाद मिया खानको नाउँमा सम्मानित धनुषा जिल्ला अदालत, धनुषाबाट मिति २०८३।०३।३१ गते पक्राउ अनुमती प्रदान भई आएको हुँदा निज मो. ईरसाद मिया खानलाई खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा दाखिला गर्न हुन अनुरोध गरिएको छ’ पत्रमा उल्लेख छ ।

तर, मुस्तफा दिनहु तीन महिनासम्म उनलाई पक्राउ गर्न, अभियुक्त ईर्सादको लोकेसन, घरमा रहेको जानकारी प्रहरीलाई दिइरहे । तर, जिल्ला प्रहरी कार्यालय र जानकी प्रहरी चौकी पक्राउ गर्न अग्रसरता देखाएन । पक्राउ गर्छु भन्दै ढाँट्ने काम गरिरहे । जिल्लामा प्रहरीमा एसपी, डिएसपी र जानकी प्रहरी चौकीका बरिष्ठ सई मोहन कटुवाल पन्छिरहे ।

‘खुलेआम घुमिरहेका अपराधी ईर्सादलाई प्रहरीले पक्राउ गरोस् भनेर म एक महिना निरन्तर जिल्ला प्रहरी कार्यालय र दुई महिनासम्म जानकी प्रहरीचौकीमा दिनहु पुगे । ईर्साद भारतबाट घरआउजाउ, खुलेआम घमुफिर, घरबाटै टिकटकमा लाइभ आएको खबर जिल्ला प्रहरी र जानकी प्रहरी चौकीमा पुगेरै गरे’ पीडित मुस्तफा भन्छन् ‘तर जिल्लामा एसपी, डिएसपी र जानकी प्रहरीचौकीका सई मोहन कटुवाल सर बेवास्ता गरिरहनु भयो । पक्राउ गर्छु भनि ढाँटिरहनु भयो । अनि तीन महिना धाउँदा पनि पक्राउ नगरेपछि म धाउन छाडे ।’
पीडित मुस्तफा प्रहरीकै कमीकमजोरीको कारण आज अपराधी ईर्साद अर्का युवकको ज्यान लिएको बताए ।

‘खुलेआम घुमिरहेका अपराधीलाई पक्राउ गर्न महिनौ आग्रह गर्दा प्रहरीले नपक्रेका अपराधीले आज फेरि अर्का युवकको ज्यान लियो । अर्का घाइते छन् । यसमा मुख्य जिम्मेबार प्रहरी हो’ मुस्तफा भन्छन् ‘ती गुण्डालाई पक्रेको भए आज अनाहकमा अर्काले ज्यान गुमाउनु पर्ने थिएन होला ।’

फेरि अल्ताफमाथि खुकुरी प्रहार

मुस्तफाको घटना पश्चात समयमै प्रहरीले ईर्सादलाई पक्राउ गरेन । यसै क्रममा इर्सादले गत जेठ महिनामा अर्का युवकमाथि खुकुरी प्रहार गरे । गत जेठ ७ गते जनकपुरधाम उपमहानरपालिका ८ का ३४ वर्षीय मो. अलताफ राईनमाथि समेत खुकुरी प्रहार गरे । अल्ताफ घाइते भए । पछि उनी पनि न्यायको लागि प्रहरी समक्ष पुगे ।

अलताफको जाहेरीले पनि जिल्ला प्रहरी कार्यालय धनुषाले ईर्सादमाथि जेठ १९ गते ज्यान मार्ने उद्योग मुद्द चलाएको थियो । तर, त्यस मुद्दा पश्चात पनि ईर्साद घुमिरहे । हिंसा फैलाउने टिकटक बनाइरहे । लाइभ आइरहे । तर पनि ईर्सादलाई प्रहरीले पक्राउ गरेन । जवकी ईर्सादको घर जानकी प्रहरीचौकीबाट करिब तीन सय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट मात्र एक किलोमिटर भित्रकै दुरीमा छ ।
मुस्तफामाथि खुकुरी प्रहार घटनाको बेला जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुखमा एसपी रुगम बहादुर कुवँर थिए । जेठ महिनामा उनको सरुवा भएपछि एसपी रुपेश खड्काले जिल्ला प्रहरीको नेतृत्व सम्हालिरहेका छन् । घटनाका बेला डिएसपी गणेश बम थिए भने पछिल्ला करिब दुई महिनादेखि डिएसपी ओम प्रकाश खनाल जिम्मेबारीमा छन् ।

जानकी प्रहरीचोकीका बरिष्ठ सईलाई पटक पटक पीडित पुगेर अभियुक्त पक्राउ गर्न लोकेसन तथा जानकारी दिँदा किन नसमातिनु भएन जिज्ञासा अनलाइनखबरले राख्दा उनले यस विषयमा बोल्न मानेनन् । उनले यसविषयमा प्रवक्ता डिएसपीसँगै कुरा गर्न भन्दै फोन काटे ।

प्रवक्ता डिएसपी खनाल आफूलाई मुस्तफाको घटना बारे यसअघि जानकारी नभएको र पीडितसमेत आफूसमक्ष नआएको बताए । तर प्रहरीले निरन्तर उनलाई घरसम्म खोजविन खोजविन गर्दा फेला नपरेको दावी उनको छ ।

‘म जिम्मेबारीमा आएको थोरै समय भएको छ । यो विषय पहिलाकै रहेको छ । हिजोको घटना पश्चात पहिलेको घटनाबारे जानकारी पाएको हुँ, उनले भने , ईर्सादलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएका थिए । धेरैपटक प्रहरी घरसम्म पुगेको छ । तर फेला परेका थिएन । बिहीबार घटना गरेर लुक्न खोजेका ईर्सादलाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ’ डिएसपी खनालले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनाल आफूलाई मुस्तफाको घटना बारेयसअघि जानकारी नभएको र बिहीबार भएको घटनापछि मात्र त्यस विषयमा जानकारी भएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *