TodayPati

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, असोज २१ गते ।

स्वास्थ्य सेवा मेडिकल ल्याब टेक्नोलोजी÷प्याथोलोजी समूहको अधिकृत एघारौँ तहको दरबन्दी रहेको मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डेढ महिनादेखि सातौँ तहका वरिष्ठ ल्याब टेक्निसियन गुणानन्दप्रसाद साह निमित्त छन् । जबकि एउटै सेवा–समूहका उनीभन्दा वरिष्ठ अधिकृत आठौँ तहका ओमराज यादव त्यहाँ कार्यरत छन् ।

त्यसअघि असम्बन्धित क्षेत्रका संघीय सरकार मातहतका चिकित्सक वरिष्ठ कन्सल्ट्यान्ट सर्जन (अधिकृत दशौँ तह) डा. नागेन्द्र यादवलाई ३ भदौमा संघमा फिर्ता पठाएपछि भोलिपल्ट रमाना दिइएको थियो । उनले उपस्थितमध्ये वरिष्ठ गुणानन्दप्रसादलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएका थिए । मन्त्रालयले पनि २०८३ भदौ १८ गते गुणानन्दलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो । जबकि उनीभन्दा वरिष्ठ अधिकृत आठौँ तहका ओमराज यादव त्यहाँ कार्यरत छन् ।

प्रयोगशालामै दरबन्दी रहेका ओमराजलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८३ साउन १ गते स्तरवृद्धिमार्फत अधिकृत सातौँबाट अधिकृत आठौँ तहमा कायम गरेको थियो । तर कनिष्ठ सातौँ तहका कर्मचारीलाई निमित्त प्रमुख कायम राख्न मन्त्रालयले भदौ १८ गते उनलाई प्रादेशिक अस्पताल कलैया, बारामा सरुवा गरेको थियो । ओमराज प्रशासकीय अदालत पुगेका छन् ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले कोही हटेपछि आफूभन्दा दोस्रो तहका वरिष्ठलाई निमित्तको जिम्मेवारी दिने गरिएको र सोहीअनुसार जिम्मेवारी दिइएको दाबी गर्छन् । ‘प्रमुखले आफूभन्दा दोस्रो तहका सिनियरलाई जिम्मेवारी दिएका हुन् । अब दशौँ, एघारौँ आउँदा स्वतः प्रमुखको जिम्मेवारी पाउँछन्,’ उनी भन्छन् ।

विवादित तथा चलखेलकै पृष्ठभूमि रहेको कारण डा. नागेन्द्र यादवलाई मधेश सरकारले जनस्वास्थ्य प्रयोगशालाका अलावा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रमुखको दोहोरो जिम्मेवारी दिएको थियो । यी दुवै अड्डा स्वास्थ्य मन्त्रालयका माल अड्डा मानिन्छन्, जहाँ करोडौँको औषधि तथा उपकरण खरिद गरिन्छ । वर्षेनी यनी दुई अड्डामा जिम्मेबारीको लागि विवाद तथा चलखेल भइरहन्छ । त्यसैले प्रयोगशालाभन्दा फरक प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको अवस्था पनि छैन । डा. यादवले रमाना बुझेर गएपछि त्यहाँ सातौँ तहका फार्मेसी अधिकृत उज्वल यादव निमित्त छन् । त्यहाँ पनि एघारौँ तहको दरबन्दी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता राजेश मिश्र मन्त्रालयले प्रयोगशाला र आपूर्तिमा दरबन्दीअनुसारको पद भएका कर्मचारी पठाउने आन्तरिक गृहकार्य गरिरहेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको अर्को माल अड्डा रहेको स्वास्थ्य निर्देशनालयमा उस्तै कर्मचारीको चलखेल छ । यहाँ पनि मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीले आफ्नो स्वार्थ र चलखेल गर्ने कर्मचारीलाई राख्ने प्रवृत्ति यथावत् छ । भदौ २९ गते निर्देशक सरोजचन्द्र न्यौपाने रमाना लिएर काज फिर्ता भएपछि असोज १६ गतेसम्म निर्देशनालय प्रमुखविहीन थियो । त्यहाँ कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ १०औँ तहकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सुनिता कुमारी रहे पनि महिला भएकै कारण उनलाई निमित्तको जिम्मेवारी लिखित रूपमा दिइएको थिएन । कोही पनि आधिकारिक निमित्त थिएनन् ।

मधेश सरकारको २६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले हेल्थ इन्स्पेक्सन समूह, अधिकृत एघारौँ (प्राविधिक) तह निर्देशक पदमा नवलकिशोर झालाई बढुवा नियुक्तिको निर्णय ग¥यो । उनलाई मुख्यमन्त्री कार्यालयले पद रिक्त रहेको स्वास्थ्य निर्देशनालयमा पदस्थापन गर्नुपर्ने थियो । मधेश प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ३७ को उपदफा १ मा बढुवाउपर उजुरी नपरे १६औँ दिनमा नियुक्ति गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

आठौँदेखि माथिका तहका कर्मचारीलाई सरुवा तथा पदस्थापन मुख्यमन्त्री कार्यालय झालाई पदस्थापन नगरी त्यो अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो । किन भने त्यहाँ पनि चलखेल गर्न खोजेको स्पष्ट थियो । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौँ तहका निर्देशकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो । मुख्यमन्त्री कार्यालयका केही उच्च तहका कर्मचारीको जोडबलमा फेरि गत शुक्रत्रबार बसेको बैठकले कानुन बमोजिम झालाई निर्देशनालयको निर्देशक नियुक्त गरेको छ ।

बढुवाअघि झा दशौँ तहमा हुँदा उनको दरबन्दी निर्देशनालयमै रहेपनि प्रादेशिक अस्पताल मलंगवामा थिए ।
यसअघि स्वास्थ्य निर्देशनालयमा निर्देशक रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २ गते स्वास्थ्य शिक्षा प्रशासक एघारौं तहका सरोज चन्द्र न्यौपानेको काज फिर्ता गरेको थियो । उनको दरबन्दी प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा रहेपनि उनी सरकारलाई प्रभावमा पारेर निर्देशनालयमा बसेका थिए ।

असम्बिन्धित क्षेत्रका कर्मचारी भएपनि उनलाई त्यहाँ पहिलेदेखि नै मुख्यमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयले राखेको थियो । यहाँ पनि वर्षेनी करोडौको औषधि उपकरण तथा तालिम गोष्ठि संचालन हुन्छ । त्यस कारण त्यहाँ अन्य समूह र तहका कर्मचारी जान ठूलो जोडबल गर्छन् ।
झा मात्र होइन, यसअघि निर्देशनालयको निर्देशक पदमा दुई वर्षअघि बढुवा भएको झण्डै एक वर्षपछि मात्र डा. श्रवणकुमार नायकलाई पदस्थापन गरिएको थियो ।

१६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवा भएका नायकलाई कार्तिक अन्तिम साता २०८१ मा मात्र उक्त पदमा मधेश सरकारले पदस्थापन गरेको थियो । जनमतका मुख्यमन्त्री सतिशकुमार सिंह र त्यसअघि जसपा नेपालबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले पनि उनलाई ६–६ महिना कार्यालयमा थन्काएका थिए । त्यति मात्र होइन, उनले ६ महिनासम्म निर्देशनालयमै आफूभन्दा कनिष्ठ डा. राजीवकुमार झाको मातहतमा काम गर्नुपरेको थियो ।

त्यसबेला मुख्यमन्त्री सरोज र सतिशले डा. राजीव झालाई महिनौँसम्म काखी च्यापेर निर्देशनालयबाहेक प्रादेशिक अस्पताल जलेश्वरको समेत जिम्मेवारी दिएका थिए ।

अहिले कांग्रेसबाटै मुख्यमन्त्री रहेका कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्री नागेन्द्र साह पनि फरक छैनन् । स्वार्थअनुसार ‘एसम्यान’ तथा चलखेल गर्ने कर्मचारीलाई प्राथमिकतामा राख्ने गरेका छन् । वरिष्ठलाई थन्काउने र पाखा लगाउने प्रवृत्ति अझै हटेको छैन ।
बढुवा विवादमा प्रशासकीय अदालतको फैसलाले दशौँ तहमै कायम भएका डा. नायकलाई मधेश सरकारले डेढ वर्षदेखि अतिरिक्तमा राखेर मुख्यमन्त्री कार्यालयमै थन्काएको छ । जबकि उनीभन्दा कनिष्ठ र असम्बन्धित कर्मचारीलाई मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले निमित्त प्रमुख र दोहोरो जिम्मेवारी दिने गरी राख्ने गरेका छन् ।

स्वास्थ्य निर्देशनालयबाट ७ वैशाख २०८२ मा मुख्यमन्त्री कार्यालयमा राखिएका डा. नायकलाई अझैसम्म जिम्मेवारी दिइएको छैन । उनी इमानदार कर्मचारीका रूपमा चिनिन्छन् । सुशासनमा कडा र चलखेल गर्ने स्वभावको नभएकै कारण उनलाई सरकारले थन्काएको आरोप लाग्दै आएको छ ।

अझै पनि डा. नायकको पदस्थापन अनिश्चित छ । मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कोइरालाले अब हुने सरुवामा डा. नायकलाई पनि जिम्मेवारी दिने बताउँछन् ।

व्यक्तिगत लाभ पुग्ने कर्मचारीलाई काखी च्याप्ने र आफ्नो काममा निष्ठावान् कर्मचारीलाई पाखा लगाउने प्रवृत्तिको उदाहरण माथिकै फेहरिस्तबाट बुझ्न कठिन छैन । माथिका यी उदाहरण मात्र हुन् । अहिले स्वास्थ्य मन्त्रालयका सचिव छन् डा. प्रमोद यादव । उनले पनि पदको लोभमा सम्बन्धित मन्त्रीसँग कानुनी कुरामा अडिग हुन नसक्दा झन् बेतिथि बढेको मधेश भवनमा चर्चा छ ।

मधेश सरकारको मातहतमा रहेका स्वास्थ्य क्षेत्रका निकायमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको खटनपटन भद्रगोल छ । प्रमुख तीनवटा निकाय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपुर्ति र स्वास्थ्य निर्देशनालय दरबन्दी अनुसारको प्रमुख विहीन छन् । सरकार, प्रमुखदेखि सचिवसम्म नियमकानुन मिचेर स्वार्थको लागि चलखेल गर्ने तथा त्यस्तै चलखेल गर्ने चिकित्सक तथा कर्मचारीलाई काँखी च्याप्दा स्वास्थ्य क्षेत्रमा बेतिथि बढ्दै गएको कर्मचारीहरु बताउँछन् ।

‘मधेश सरकारका मुख्यमन्त्री र मन्त्रीको आफ्नै स्वार्थ छ । केही गरौं यसले प्रवेशवासीलाई फाइदा हुन्छ । एउटा राम्रो नजिर बन्छ, भोलिका दिनमा अझ् राम्रो सुधार हुन्छ भन्ने सोँचनै कसैको छैनन’मधेश भवनका एक अधिकृत भन्छन् ‘कर्मचारीलाई कनिष्ठलाई बरिष्ठ र बरिष्ठलाई कनिष्ठ बनाएर राख्दा उनीहरुलाई एस म्यान पाएर फाइदा त हुन्छ । तर यसले स्वास्थ्य क्षेत्रमा बेतिथिले जडो गाड्छ । सुधारको अपेक्षा गर्न सकिँदैन ।’

स्वास्थ्य क्षेत्रमा जनअपेक्षित सुधार हुन सकेको छैन । प्रादेशिक अस्पतालमा गम्भीर प्रकृतिका बिरामी तथा घाइतेको अझै प्रभावकारी उपचार हुन सकेको छैन । रेफर सेन्टरका रूपमा प्रादेशिक अस्पतालहरू बनेका छन् ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्य क्षेत्रका निकायमा देखिएका प्रमुखको जिम्मेवारीसम्बन्धी समस्या केही दिनभित्रै समाधान हुने बताउँछन् ।

‘मधेशमा धेरै समस्याहरू छन् । सुधारमा सरकार लागेको छ । क्रमिक रूपमा हुन्छ,’ मुख्यमन्त्री यादव भन्छन्, ‘स्वास्थ्य क्षेत्रका कार्यालय प्रमुखको जिम्मेवारीसम्बन्धी समस्या ३–४ दिनमा समाधान गर्ने प्रयासमा छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *