टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।
वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै धनुषाका चार युवासँग लाखौँ रुपैयाँ ठगी भएको छ । ठगी आरोपमा दुई जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको महिनौ बित्दा पनि अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।
धनुषाको हंसपुर नगरपालिका–७ का नियाज मोहम्मद राईनसहित चार जनाले आफूहरूलाई इटाली पठाइदिने भन्दै महोत्तरीको भंगहा नगरपालिका–५ का हैदर अलि र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ का अनवर शेषले रकम लिएर ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए ।
जाहेरीअनुसार हैदर अलिले इटालीमा प्याकिङको काममा मासिक १ हजार ४ सय युरोसम्म तलब हुने र रोजगारीका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताएपछि उनीहरू इटाली जान तयार भएका थिए ।

त्यसपछि राहदानीसमेत बुझेर रकम माग गर्दै हैदर अलिले आफ्नो नाममा रहेको नेपाल बैंकको खातामा रकम जम्मा गर्न लगाएको जाहेरीमा उल्लेख छ । नियाज मोहम्मद राईनले बैंक खातामार्फत ३ लाख ८३ हजार र नगद १ लाख १७ हजार रुपैयाँ, मोहम्मद अतुल्लाहले बैंकमार्फत २ लाख र नगद ४ लाख २५ हजार रुपैयाँ, अमजद अलिले बैंकमार्फत २ लाख ५३ हजार र नगद ४ लाख ६७ हजार रुपैयाँ तथा वसिन राईनले बैंकमार्फत ३ लाख २३ हजार र नगद १ लाख ३५ हजार रुपैयाँ दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
यस्तै, हैदर अलिले नै उपलब्ध गराएको अनवर शेषको नबिल बैंक खातामा नियाज मोहम्मद राईनले ३ लाख र वसिन राईनले ३ लाख ५ हजार रुपैयाँ जम्मा गरेको जाहेरीमा उल्लेख छ ।
रकम लिएपछि तत्काल इटाली पठाइदिने भन्दै उनीहरूलाई विभिन्न समयमा भिसा, वर्क परमिट, अफर लेटर र टिकट उपलब्ध गराइएको तर ती कागजातहरू नक्कली रहेको जाहेरवालाहरूको दाबी छ । लामो समयसम्म पनि इटाली नपठाएपछि रकम फिर्ता माग्दा आरोपितहरू सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख छ ।
जाहेरीकर्ताहरूले आफूहरूबाट लिइएको रकम फिर्तासहित त्यसको ५० प्रतिशत हर्जाना तथा राहदानीसमेत फिर्ता गराउन र दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
वैदेशिक रोजगार विभागमा दर्ता भएको उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट २०८२ माघ २२ गते हैदर अलिलाई पक्राउ गर्न अनुमति प्राप्त भएको विभागको पत्रमा उल्लेख छ ।
अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गरेर स्वास्थ्य परीक्षणसहित विभागमा उपस्थित गराउन काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्राचार गरिएको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम अनुसन्धानका लागि सहयोग गर्न प्रहरीलाई अनुरोध गरेको छ । जाहेरीसँगै पीडितहरूले राहदानीको भौचर, आरोपितले दिएका कागजात तथा सामाजिक सञ्जालमा भएका कुराकानीलाई प्रमाणका रूपमा पेस गरेको उल्लेख छ ।