टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–१ सोनापुर निवासी बौद्धिक व्यक्तित्व तथा कम्युनिष्ट आन्दोलनका नेता बौएलाल महतोको निधन भएको छ । पेटसम्बन्धी समस्याबाट पछिल्लो समय पीडित महतोको ८२ वर्षको उमेरमा निधन भएको हो ।
समाजप्रति समर्पित, सरल, सहज र मिलनसार स्वभावका महतो स्थानीयस्तरमा लोकप्रिय थिए । उनले लामो समय स्थानीय तहको नेतृत्वसमेत गरेका थिए ।

वि.सं. २०३४ सालदेखि स्थानीय राजनीतिमा सक्रिय महतो तीनपटक जनप्रतिनिधिका रूपमा निर्वाचित भएका थिए । साविक धनुषाको भूचक्रपुर र लक्ष्मीनिवास गाविस संयुक्त रहँदा उनी उपप्रधानपञ्च बनेका थिए । भूचक्रपुरबाट छुट्टिएर लक्ष्मीनिवास छुट्टै गाविस बनेपछि उनी लगातार दुई कार्यकाल प्रधानपञ्च निर्वाचित भएका थिए ।

कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका महतोले राजनीतिक गतिविधिका क्रममा केही वर्ष जेलजीवनसमेत बिताएका थिए । महतोको निधनप्रति स्थानीयवासी, राजनीतिकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।
महतोको शुक्रबार नै सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजकिशोर महतो, नेकपाका नेता तथा पूर्वमन्त्री सत्रुधन महतोसहित स्थानीय कम्युनिष्ट नेता, जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थिति थियो ।