TodayPati

टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।

मुलुक आर्थिक दबाबमा रहेका बेला मधेश प्रदेश सरकारले साढे ३ करोड रुपैयाँ पर्ने एउटा विलासी गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको र राज्यको आम्दानी तथा खर्च व्यवस्थापनमा दबाब बढिरहेका बेला प्रदेश सरकारले एउटै गाडी खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो ।

श्रम तथा यातायात मन्त्रालयले अति विशिष्ट व्यक्तिका लागि भन्दै ३ करोड ५० लाख रुपैयाँमा चारपांग्रे सवारीसाधन खरिद गर्न गत भदौ २५ गते बोलपत्र आह्वान गरिसकेको छ ।

चालु आर्थिक वर्षको बजेटमा श्रम तथा यातायात मन्त्रालयअन्तर्गत चारपांग्रे सवारीसाधन खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, प्रदेश सरकारको आर्थिक अवस्था र बजेट कार्यान्वयनमा देखिएको दबाबका कारण अर्थ मन्त्रालयले विभिन्न शीर्षकको बजेट कटौती तथा रोक्का गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा करिब ७ अर्ब रुपैयाँसम्म घट्ने अनुमान गर्दै केही शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती गर्ने तथा केही शीर्षकको रकम प्रदेश लेखा प्रणालीमा रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सवारीसाधन खरिदतर्फको बजेटसमेत रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।

तर, अति विशिष्ट व्यक्तिको प्रयोगका लागि सवारीसाधन खरिद गर्न विनियोजित बजेट भने रोक्का नभएको अर्थ मन्त्रालयको भनाइ छ । राज्यको आम्दानी र खर्च व्यवस्थापनमा दबाब रहेका बेला जनताबाट संकलित करबाट करोडौँ रुपैयाँ एउटै गाडी खरिदमा खर्च गर्न लागिएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको छ ।


मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भने अति विशिष्ट अतिथिका लागि गाडी खरिद गर्न बजेट विनियोजन भएकाले प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार मुख्यमन्त्री कार्यालयको पत्राचारपछि खरिद प्रक्रिया अघि बढाइएको हो। उक्त गाडी राष्ट्रपति तथा प्रधानमन्त्री मधेश आउँदा प्रयोग गर्ने बताइएको छ।

अर्थ मन्त्रालयले पनि सामान्य सवारीसाधन खरिदतर्फको बजेट रोक्का गरिए पनि अति विशिष्ट व्यक्तित्वका लागि खरिद गरिने सवारीसाधनको बजेट रोक्का नगरिएको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *