TodayPati

टुडेपाटी-
जनकपुरधाम, असोज ९ गते ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित मदरसा सैईदा फातिमा लिल्बेनातबाट भदौ २७ गते बिहान भागेका तीन किशोरी अन्ततः घर फर्किएका छन्।

अन्दाजी १५, १६ र १७ वर्षका ती किशोरीलाई आफन्त इन्डिया फाउण्डेसन, आफन्त नेपाल तथा नेपाल र भारत प्रहरीको संयुक्त प्रयासमा असोज ५ गते उद्धार गरी नेपाल ल्याइएको हो।

मदरसाबाट भागेर भारतको लुधियाना पुगेका उनीहरूलाई परिवारले दिएको सूचनाका आधारमा आफन्त नातामा पर्ने एक मामाले रेलबाट फेला पारेका थिए। त्यसपछि उनीहरूलाई लुधियानास्थित आफ्नै घरमा राखिएको थियो।

किशोरीहरूलाई लुधियानासम्म पुग्न एक आफन्त युवाले सहयोग गरेको खुलेपछि परिवारले ती युवालाई सम्पर्क गरी रेलको नाम, नम्बर र समयबारे जानकारी लिएको थियो। त्यसैका आधारमा आफन्त इन्डिया फाउण्डेसन र पञ्जाब प्रहरीको टोलीले किशोरीहरूलाई मामाघरबाट उद्धार गरी भारतको दिल्लीस्थित नेपाली दूतावासमा पु¥याएको थियो।

दिल्लीस्थित नेपाली दूतावासबाट आफन्त इन्डियाको सहजीकरणमा परिवारसहित उनीहरूलाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको थियो। जिल्ला प्रहरी कार्यालयमा बयान लिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
आफन्त नेपालको उपस्थितिमा प्रहरीले लिएको प्रारम्भिक बयानमा किशोरीहरूले मदरसामा मोबाइल फोनको विषयलाई लिएर आफूहरूमाथि कुटपिट र गालीगलौज भएपछि रिसाएर मदरसा छाडेर भागेको बताएका छन्।

मदरसामा विद्यार्थीलाई मोबाइल राख्न बन्देज रहे पनि आफूहरूसँग मोबाइल भेटिएपछि महिला शिक्षकले कुटपिट गरेको र त्यसपछि ‘अब मदरसामा नपढ्ने’ भन्दै आफूहरू त्यहाँबाट गएको उनीहरूको बयानमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले किशोरीहरूले दिएको बयान प्रारम्भिक रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको बताए।

यता, किशोरीहरूले कुटपिट भएको बताए पनि मदरसा पक्षले भने त्यसलाई अस्वीकार गरेको छ। नियमविपरीतका गतिविधि गरेपछि शिक्षकहरूले गालीगलौज गर्दै सम्झाउने र सुधार्ने प्रयास गरे पनि कुटपिट वा यातना नदिएको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *