टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।
मधेश सरकार मातहत जनकपुर यातायात व्यवस्था कार्यालयको एउटा भिडियो भाइरहल भइरहेको छ । भिडियोमा कार्यालयको एक शाखामा भित्र दुई जना कर्मचारी बसेर काम गरिरहेका देखिन्छन् । अन्य ७।८ जना अनाधिकृत व्यक्तिहरु छन् । बिचौलिया जस्तै देखिन्छन् । केहीले आफै फाइल खोज्दै छन् भने, कोही आफै काम गर्दै छन्, कोही कामहुने प्रतिक्षामा छन् ।

बाहिर झ्यालबाट सेवाग्राह भन्छन् ‘पुरै बिचौलियाल भरेका छन् ।’ त्यसपछि अर्का सेवाग्राही कर्मचारीलाई गुनासो गर्छन् ‘यौ सरजी खाली बिचौलियेके काम होतै । हमरासभके काम नै होतै । नर्मल आदमी नै काम करासकैय ? वा है हमर फाइल, कतेक देर से छि हम वेटिंगमे ( सर मात्र बिचौलियाकै काम हुन्छ ? हाम्रो काम हुँदैन ? के समान्य मान्छे काम गराउँन पाउँदैन ? उ त्यहाँ छ मेरो फाइल, कतिबेलादेखि म प्रतिक्षामा छु ।’)
फेरि ती सेवाग्राहीले आक्रोश पोख्छन् ‘हमहु अहिय के जनता छी ने । अहाँसभ खाली बिचौलियाके काम करैछी, आ उ फाइलसभ एनिसे ओनी फेकै छी, यि सभ कर्मचारीये है ? ( म पनि यहीको जनता छु । तपाइहरु मत्र बिचौलियाको काम गर्नु हुन्छ । र त्यो फाइलहरु इताबाट उत्ता फ्याल्नु हुन्छ । यिनीहरु सबै कर्कचारी नै हुन् ?)’

सेवाग्राहीले यति गुनासो गरेपछि कुर्सीमा बसेर काम गरिरहेका एक कर्मचारी जवाफ दिन्छन् ‘अहु भित्रिचे चैलआउ, (तपाई पनि भित्र आइहाल्नुस्) ।’
झ्याल बाहिरका सेवाग्राहीको गुनासो र कार्यालय भित्रका कर्मचारीको जवाफ र बिचौलियाहरुको भीडको यो भिडियो मंगलबारको रहेको छ । यो भिडियो सेवाग्राही धनेश्वर राउत नाम गरेका व्यक्तिले सामाजिक संजालमा राखेपछि भाइरल भएको हो । यो दृश्यले मधेशको कार्यालयको वर्तमान व्यतिथि बोलिरिहेको छ । सुशासनलाई गिज्याइरहेको छ ।
यस बारे जनकपुर यातायात कार्यालयका प्रमुख बासुदेव मल्लसँग जिज्ञासा राख्दा उनले आफूलाई जानकारी नरहेको दावी गरे । ‘मलाई यसबारे थाहा छैन । शाखा अधिकृतसँग बुझेर मात्र भन्न सक्छु ।’
यता मधेशकी श्रम तथा यातायात मन्त्री सारदा देवी थापाले यस बारे कर्मचारीलाई बोलाएर घटनाबारे जानकारी लिने र आवश्यक निर्देशन दिने बताइन् ।
वर्तमान बालेन्द्र साह नेतृत्वमा सरकार बन्दा केहीदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीले जिल्लाका कार्यालयहरुमा छड्के अनुगमनलाई निरन्तरता दिएको थियो । त्यस क्रममा जनकपुर यातायात कार्यालयबाट तीन÷चार पटक बिचौलियाहरुलाई पक्राउ गरेर कारबाही गरेको थियो । तर केही दिन यसरी चलाएको प्रशासनको यो अभियान बिस्तारै हराउँदै गयो । र अहिले यातायात, मालपोत जस्ता कार्यालयहरुमा फेरि पनि बिचौलिया हाबी भएका छन् ।
यातायात कार्यालयहरु कर्मचारीको रोजाइको प्रमुख कार्यालय रहेको छ । त्यहाँ जाने कर्मचारीले रकमको चलखेल गर्ने र मधेशको मुख्यमन्त्री कार्यालय र श्रम तथा यातायात मन्त्रालयलाई प्रभावमा पार्ने हुँदा यी कार्यालयहरुमा नियमन अनुगमन हुँदैन । यस कारण बिचौलिया हाबी हुने गरेका छन् । कर्मचारी सरकारलाई टेर्न छाड्ने गरेका छन् । केही महिना अघि बाराको कलैया यातायात कार्यालयमा तत्कालीन निमित कार्यालय प्रमुख चिन्तन आचार्यले एक सेवाग्राहीलाई कार्यकक्षमै कुटपिट गरेको भिडियो भाइरहल भएको थियो ।