टुडेपाटी-
जनकपुरधाम, भदौ ३१ गते ।
धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुर स्थित राष्ट्रिय आधारभूति विद्यालयका शिक्षक दुर्योधनप्रसाद राय दनुवारले गाउँपालिका कार्यालयसमेतमाथि दिएको रिट उच्च अदालत जनकपुरले खारेज गरेको छ । मंगलबार अदालतका न्यायाधीशद्य सुदर्शन राज पाण्डे र कैलास प्रसाद सुवेदीको संयुक्त इजलासले शिक्षक दनुवारले दिएको रिट खारेज गरेको हो ।

आफू बरिष्ठ भएपनि आफूलाई बटेश्वर गाउँपालिका कार्यालय, जनप्रतिनिधि र गाउँले दबाब दिएर आफूभन्दा कनिष्ठ शिक्षकलाई विद्यालयको प्रधानाध्यापक नियुक्त गरेको भन्दै उनले गत असार १७ गते उच्च अदालतमा रिट दिएका थिए ।
रिट अनुसारको आधारप्रमाण नपुगेको ठहर गर्दै उनको रिट अदालतले खारेज गरेको हो । शिक्षक दनुवारले रिट दिएपछि विद्यालयको आर्थिक कारोबार ठप्प हुँदा शिक्षकको तलब, दिवाखाजा र पठनपाठन प्रभावित भएको थियो । रिट दिएपछि शिक्षक दनुवार त्यसपछि विद्यालयमा समेत जान छाडेका छन् ।

वर्षौदेखि विद्यालय धारासायी भएपछि स्थानीय युवा, अभिभावक र सम्पूर्ण गाउँले संगठित भएर पठनपाठन सुधारका लागि लागिपरेका छन् । एकवर्षअघिसम्म मात्र ३०÷३५ जना विद्यार्थी रहेकोमा करिब १५ जना मात्र नियमित विद्यालयमा जाने गर्थे । युवा तथा गाउँले सक्रिय भएपछि अहिले विद्यालयमा ११० जना विद्यार्थी नामांकन गराएका छन् भने करिब सय विद्यार्थी नियमित विद्यालयमा पठनपाठनको लागि पुग्ने गरेका छन् ।