TodayPati

टुडेपाटी-
जनकपुरधाम, साउन २६ गते ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले प्रदेश युवा संजाल, मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ प्रदान गरेको छ।

जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समारोहमा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तथा मन्त्रालयका प्रदेश सचिव सुशील कुमार साह तेली ले राईनलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

युवा नेतृत्व विकास, युवा सशक्तीकरण, सामाजिक रूपान्तरण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा मधेश प्रदेशका युवाको प्रतिनिधित्व गर्दै पुर्‍याएको विशिष्ट एवं अनुकरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

सम्मान ग्रहणपछि राईनले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई मधेश प्रदेशका सम्पूर्ण युवा, युवा अभियन्ता तथा सामाजिक परिवर्तनका लागि निरन्तर क्रियाशील युवाहरूको सम्मान भएको बताए। उनले युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, युवा–मैत्री नीति तथा बजेट निर्माणका लागि आगामी दिनमा पनि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

राईन हाल प्रदेश युवा संजाल, मधेश प्रदेशका अध्यक्ष हुनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा मञ्चमार्फत युवाका मुद्दा, अधिकार, सहभागिता र नेतृत्व विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, गैरसरकारी संस्था, युवा संगठन तथा प्रदेशभरिका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *