टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।
नेपाल शिक्षक महासङ्घ धनुषाको आयोजनामा शुक्रबार बटेश्वर गाउँपालिकास्तरिय शिक्षकहरुको गुनासो सुनवाइ तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ बटेश्वर गाउँपालिका अध्यक्ष रामदुलार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका मधेश प्रदेशका निवर्तमान अध्यक्ष मेघनाथ यादवले शिक्षकहरुलाइ राज्यका तीन ओटै सरकारले अपहेलना गर्ने गरेको आरोप लगाए ।
नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको हकहितका लागि महिनौंसम्म सडक आन्दोलन गरेको स्मरण गर्दै सरकारले शिक्षकले खाइपाइ आउदै गरेको सुविधामा समेत कटौतीलगायत शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै भदौमा आन्दोलनको घोषणा गरेको बताए । उनले भने ‘बटेश्वर गाउँपालिकामा स्थानीय सरकारले सघिय सरकारको परिपत्र र निर्णय बिपरित आइतबार समेत विद्यालय संचालन गरिनु गैरकानुनी भएकोले पालिकाले यस निर्णयमा पुनर्बिचार गर्नुपर्छ ।’
कार्यक्रममा नेपाल शिक्षक महासङघ धनुषाका अध्यक्ष सुरेश कुमार यादवले बटेश्वर गाउँपालिकामा आइतबारको बिदा नदिइनु सघिय सरकारको निर्देशन बिपरित भएकोले शिक्षक महासङ्घको नेतृत्वमा आइतबार बिदाको लागि पहल गरिने बताए । पालिकाले आइतबारको बिदा घोषणा नगरे कानुनी जटिलता हुने बताए ।


नेपाल शिक्षक महासङ्घ धनुषाका सह अध्यक्ष प्रमोद शरण केवटले शिक्षकहरुको पेशागत हकहितका लागि आफु अग्रसर रहेको बताए । शिक्षकहरुबिचमा आपसी समझदारी हुनुपर्ने भन्दै आइतबारको बिदा हुनुपर्ने अडान राखेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक सघ धनुषाका अर्थ सचिव रामचन्द्र महतोले पालिकाले आइतबारको बिदा नदिए विद्यालय ठप्प गरि पालिकामा धर्नामा बस्ने चेतावनी दिए । शिक्षकको हकहितका लागि आफुहरु सदैव अग्रपत्तिमा रहने बताए ।
कार्यक्रममा बोल्दै शिक्षकहरुले बटेश्वर गाउँपालिकाले बालबिकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाइ संघिय सरकारको निर्देशन बिपरित मासिक २ हजार रुपैयाँ कम निकासा गर्दै आएको गुनासो गरेका थिए । बटेश्वर गाउँपालिकामा हुने पालिका अधिवेशनलगायतको कार्यक्रममा शिक्षकहरुलाइ सहभागीता नगराउने , शिक्षकलाइ कर्मचारीको रुपमा नहेर्ने गरेकोमा दुख लागेको बताए । शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्न नचाहेको र राजनीतिक पहुँचको आधारमा कुनै विद्यालयलाइ काखा र पाखा लगाउने गरेको आरोप लगाएका थिए ।

कार्यक्रममा बटेश्वर गाउँपालिकाले आइतबार सार्वजनिक बिदाको दिन समेत विद्यालय संचालन गरेकोले सार्वजनिक बिदाब्दिन भन्दै शिक्षक महासङ्घको नेतृत्वमा आइतबार पालिका ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय गरेका छन् । आइतबारको बिदा घोषणा नभए पालिकमा धर्नालगायतको कार्यक्रम गर्न बाध्य हुने जनाएको छ । ज्ञापनपत्रमा बालबिकास सहजकर्ता र कार्यालय सहयोगिलाई सघिय सरकारको निर्णय बमोजिम पालिकाले थप गर्नुपर्ने पूरा रकम निकासा गर्नुपर्ने माग गर्ने शिक्षक रामदुलार महतोले बताए ।
शिक्षक दिपेन्द्र सिंहले सहजीकरण गरेको कार्यक्रममा बटेश्वर गाउँपालिकामा १६ ओटै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।