टुडेपाटी-
जनकपुरधाम, साउन २३ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–२, भूचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेका दुईवटा नवनिर्मित भवन उद्घाटन नहुँदै चर्किन र फुट्न थालेका छन् ।
दुवै भवनको भुइँतला र माथिल्लो तल्लाका भित्ताको ठाउँठाउँमा चिरा परेका छन् । कक्षाकोठाका ढोकाछेउका भित्ताहरू विभिन्न स्थानमा फुटेका छन् । त्यति मात्र होइन, जडान गरिएका झ्याल–ढोकामध्ये कतिपय बन्द हुन छाडेका छन् भने केही झ्याल बाङ्गिएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । उक्त विद्यालय गाउँपालिका अध्यक्ष रामआशिष महतोको घरबाट करिब एक सय मिटरको दूरीमा रहेको छ ।
विद्यालयका प्रधानाध्यापक राजकुमार राउतले नवनिर्मित भवनको अहिलेसम्म उद्घाटन नभएको स्वीकार गर्दै भवन निर्माणमा विद्यालयको खासै भूमिका नरहेको बताए ।
‘गत वर्ष जस्ताको छाना भएका कक्षाकोठामा अत्यधिक गर्मी भएपछि नयाँ भवनमै विद्यार्थीलाई पढाउन थालेका हौं,’ उनले भने ।
भवनका धेरै स्थानमा चिरा परेको भए पनि यसको वास्तविक कारण प्राविधिकले मात्रै भन्न सक्ने उनको भनाइ छ ।


गाउँपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा तत्कालीन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालमा संघीय सरकारको सशर्त अनुदानबाट आठकोठे पक्की भवनको भुइँतला निर्माण गरिएको थियो । छतसम्म इँटा लगाएर प्लास्टर नगरी छाडिएको उक्त भवनका लागि गाउँपालिकाले ३६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । गाउँपालिका अध्यक्ष रामआशिष महतो निर्वाचित भएपछि त्यसपछि २०७९ मा उपभोक्ता समितिमार्फत ३३ लाख ४७ हजार ६५९ रुपैयाँ र २०८० मा २३ लाख ४२ हजार ६९० रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । तीन चरणमा निर्माण सम्पन्न भएको यो भवनमा ९२ लाख ८९ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।
आर्थिक वर्ष २०७८÷७९ मा विद्यालयको दक्षिणतर्फ अर्को आठकोठे भवन निर्माण सुरु गरिएको थियो । संघीय सरकारको सशर्त अनुदानअन्तर्गत ८३ लाख रुपैयाँ बजेट रहेको उक्त भवनको भुइँतला निर्माणका लागि आर्यन कन्स्ट्रक्सन, राजपुर (रौतहट)ले ६३ लाख रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो । कम्पनीले जग, पिलर र छत ढलानसम्मको काम गरेपछि गाउँपालिकाले ५४ लाख ९ हजार ३४७ रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि २०७९ मा ऋषिका कन्स्ट्रक्सनलाई ३० लाख ४७ हजार ५१ रुपैयाँ र २०८० मा उपभोक्ता समितिमार्फत ३२ लाख ५० हजार ८१९ रुपैयाँ खर्च गरी भवन निर्माण सम्पन्न गरिएको थियो ।

दुबै भवन एकैपटक निर्माण सम्पन्न भएको थियो । यो भवनमा तीन चरणमा एक करोड १७ लाख ७ हजार २१७ रुपैयाँ खर्च भएको स्थानीयवासी रकम अनियमितता गरी गुणस्तरहीन निर्माणका कारण भवन प्रयोगमा आएको केही समयमै चर्किन र फुट्न थालेको आरोप लगाएका छन् । यसको छानविन हुनुपर्ने स्थानीयको माग छ ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले आफू आउनुअघि नै दुवै भवन निर्माण भइसकेको बताउँदै हतारमा काम गरिएकाले यस्तो समस्या आएको हुन सक्ने बताए ।
‘आर्थिक वर्षको अन्त्यतिर हतारहतार काम गर्दा यस्तो हुन सक्छ । सुक्न नपाउँदै प्लास्टर गर्ने, पेन्ट लगाइदिने जस्ता कारणले सामान्य प्राविधिक त्रुटि भएको हुन सक्छ,’ उनले भने ।
