TodayPati

टुडेपाटी-
जनकपुरधाम, असार २ गते ।

धनुषाको बटेश्वर गाउँपालिका स्थित शिवशक्ति माध्यमिक विद्यालयमा कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत कक्षा १० का विद्यार्थीले उद्यमशीलता सम्बन्धी सीप प्रदर्शन गरेका छन् ।
सो क्रममा विद्यार्थीले सिकेको सीपअनुसार तयार पारेका चित्रकला, उत्पादन गरेका खाद्यान्न सामग्री, जुसलगायतका स्टल राखेर आइतबार विद्यालयमा प्रदर्शनी गरेका हुन् ।

मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग र बटेश्वर गाउँपालिकाको सहयोगमा विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम सञ्चालन भएको हो ।

विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम विद्यालय तहका विद्यार्थीलाई विभिन्न पेशा, व्यवसाय, उद्योग तथा श्रम बजारको वास्तविक अवस्थाबारे जानकारी गराई भविष्यको अध्ययन र करियर छनोटमा सचेत निर्णय लिन सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको इन्स्योरका कार्यक्रम प्रमुख बलबहादुर पौडेलले बताए ।

विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटले यस्ता सीपमूलक शिक्षाले विद्यार्थीमा श्रमको सम्मान गर्ने भावना विकास गर्नुका साथै सीपमूलक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, उद्यमशीलता र स्व–रोजगारका अवसरप्रति सकारात्मक सोच सिर्जना गर्न सहयोग गर्ने बताए। यस्ता कार्यक्रममा स्थानीय सरकारले विद्यालयहरूमा थोरै–थोरै रकम छुट्याएर प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *