TodayPati

टुडेपाटी
जनकपुरधाम, असार २२ गते ।

यातायात व्यवस्था कार्यालय बारामा एक सेवाग्राही उपर कार्यालयप्रमुख लगायत कर्मचारीले गरेको सामूहिक आक्रमणको भिडियो बाहिरिएको छ । भित्र कार्यालय प्रमुख, सोफामा दुईजना प्रहरी र अर्का एक कर्मचारी बसिरहेका छन् । ढोकामा अर्का कर्मचारी उभिरहेको र एकजना सेवाग्राही केही कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ । सेवाग्राहीले हातमा रहेको कार्ड कार्यालय प्रमुखलाई हेर्न दिन्छन् ।

फेरि केहीबेर संवाद हुन्छ र त्यस क्रममा सेवाग्राहीले मोबाइल खल्तीबाट निकालेर भिडियो गर्न खोजेपछि कार्यालय प्रमुख आक्रामक भएर हातले सेवाग्राहीलाई झम्टिन खोज्छन् । त्यतिकैमा ढोकामा रहेका कर्मचारीले सेवाग्राहीलाई जोडले धकेल्छन् । कार्यालय प्रमुख पनि फुत्त उठेर सेवाग्राहीलाई गोद्दै गाला जोडले थिच्छन् । त्यसपछि घाँटी थिच्न खोजेको र धकेल्ने कर्मचारीले पनि घाँटी थिचिरहेको देखिन्छन् । सोफामा बसिरहेका प्रहरी उठेर छुट्टाउन खोजेको देखिन्छ । फेरि एक कर्मचारी भित्र आउँछन् र छेउमा रहेका अर्का कर्मचारी बाहिर निस्किएको देखिन्छ । एकछिनपछि मोबाइल समेत खोसेर छोड्छन् । त्यसपछि सेवाग्राहीलाई धम्काइरहेको देखिन्छ ।

सेवाग्राहीमाथि आक्रमणको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोले घुसको अखाडाको रूपमा बदनाम यातायात कार्यालयमा कर्मचारीको गुण्डागर्दी समेत सुरु भएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ । कारबाहीको माग उठिरहेको छ ।

यो घटनाको भिडियो सन् २०२६ मार्च १७ तारेखको रहेको देखिन्छ । अर्थात् गत फागुन तेस्रो सातातिरहेको रहेको छ । यो घटना मिलापत्र भइसकेको कार्यालयका निमित्त प्रमुख चिन्तन आचार्यको प्रतिक्रिया छ । उनका भनाइमा कुटाइ खाने सेवाग्राही अरुण कुशवाहा नामका व्यक्ति हुन् ।

उनका अनुसार त्यहाँ उभिरहेका कर्मचारी अधिकृत सुशील कर्ण छन् । रहेका प्रहरीहरू भानुभक्त आचार्यसहित छन् । धकेलेर सेवाग्राहीलाई भित्र पु¥याएर प्रमुखसँग घाँटी थिचिरहेका व्यक्ति कार्यालयका चौकीदार दिलीप पटेल हुन् ।
निमित्त प्रमुख आचार्यका अनुसार ती अरुण भन्ने सेवाग्राही आफूलाई पत्रकार रहेको दाबी गर्दै साली र श्रीमतीको लाइसेन्स बनाउन आउँदा कर्मचारीलाई धाकधम्कीका साथै गालीगलौज गरेपछि उक्त घटना भएको थियो ।


बाहिरिएको भिडियो पूरा भाग नरहेको र त्यसको सानो क्लिप मात्र काटेर राखिएको निमित्त प्रमुख आचार्यको दाबी छ । घटना पश्चात् दुवै पक्ष बसेर मिलापत्र गरिसकेको पनि उनको जिकिर छ ।

यसबारे मधेशको श्रम तथा यातायात मन्त्रालयको पनि ध्यानाकर्षण भएको छ । श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भिडियो सामाजिक सञ्जालमा हेरेको र यस विषयमा आज मन्त्रालयमा छलफल हुने बताए ।

‘मैले पनि सामाजिक सञ्जालमै यो भिडियो हिजो देखेँ । आज मन्त्रालयमा यस घटनाबारे छलफल हुन्छ,’ उनले भने ।
निमित्त प्रमुख आचार्य अधिकृत छैटौँ हुन् । उनको गत पुस महिनामा तत्कालीन श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेको बेला यातायात कार्यालय जनकपुरबाट बारा कार्यालयमा निमित्त प्रमुखको रूपमा सरुवा गरिएको थियो । बारा कार्यालयमा प्रमुखका रूपमा रहेका अधिकृत सातौं अरबिन्द दासको रौतहटको गौर कार्यालयमा सरुवा भएको मन्त्रालयका एक कर्मचारीले बताए ।

यातायात कार्यालयका प्रमुख र कर्मचारी सरुवामा आर्थिक चलखेल हुने चर्चा भइरहन्छ । पहुँच र आर्थिक चलखेलका आधारमा यातायात कार्यालयका कर्मचारीको सरुवा तथा सोहीअनुसारको जिम्मेवारी दिने प्रवृत्ति रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।
बाराका निमित्त कार्यालय प्रमुख कनिष्ठ भएर पनि उनलाई निमित्त प्रमुखको रूपमा जिम्मेवारी दिइएको थियो । उनी त्यसअघि करिब पाँच वर्ष यातायात व्यवस्था कार्यालय जनकपुरमा बिताएका थिए भने त्यसअघि यातायात व्यवस्था कार्यालय लहानमा जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि उनी केही घटनाहरुमा संलग्न भएको यातायातका कर्मचारीहर बताउँछन् ।

प्रायः यातायातमा कार्यरत कर्मचारी सरुवा भइरहे पनि पहुँचवाला तथा आर्थिक चलखेल गर्ने कर्मचारी एकबाट अर्को यातायात कार्यालयमा सरुवा हुने गरेको मुख्यमन्त्री कार्यालय र मन्त्रालयकै अभिलेखमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *