टुडेपाटी–
जनकपुरधाम, असार २१ गते ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ‘कलेज अफ ल’ मा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले जनकपुरधामका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा तीनदिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशमा देखिएका प्रमुख सामाजिक तथा कानुनी चुनौतीका विषयमा विद्यार्थीहरूलाई अन्तरक्रियात्मक रूपमा जानकारी गराइएको थियो । विशेषगरी लागुऔषध दुव्र्यसन, साइबर अपराध, सङ्घीयता र निर्वाचन प्रणाली तथा बालविवाहसम्बन्धी कानुनी व्यवस्था, त्यसको प्रभाव, रोकथामका उपाय तथा समाधानका विषयमा प्रस्तुति दिइएको विद्यार्थी अभिनाश झाले जानकारी दिए ।
यस्तै, विद्यार्थीहरूलाई आफ्नो अधिकार, कर्तव्य तथा जिम्मेवार नागरिकको भूमिकाबारे समेत सचेत गराइएको आयोजकले जनाएको छ।
कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) र ओम इन्टरनेशनल सेकेन्डरी स्कुल, वडा नं. २० स्थित श्री जनता माध्यमिक विद्यालय (देवपुरा) तथा राष्ट्रिय माध्यमिक विद्यालय (रुपैठा बेल्ही), वडा नं. १७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय (कनपट्टी) र वडा नं. १९ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय (बेगा पिपराढी) मा सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले कानुनी ज्ञान विस्तार गर्दै जिम्मेवार र सचेत नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।