टुडेपाटी-
जाकपुरधाम, असार १९ गते ।
बटेश्वर गाउँपालिकाका युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले ‘उडान : बेटर युवा कार्यक्रम २०८३’ सञ्चालन हुने भएको छ । बटेश्वर युवा सञ्जालको आयोजना तथा विभिन्न साझेदार संस्थाको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ ।
कार्यक्रममा बटेश्वर गाउँपालिकाका १६ देखि ३० वर्ष उमेर समूहका माध्यमिक शिक्षा परीक्षा वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका युवाले सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रमअन्तर्गत दुई दिने आवासीय सीपमूलक अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ । त्यसपछि सञ्चालन हुने सहभागिता अवधिमा नेतृत्व विकास, प्रभावकारी सञ्चार, नेपालको संविधान तथा संघीय शासन प्रणाली, स्थानीय सरकार, निर्वाचन प्रणाली, नागरिक सहभागिता, व्यावसायिक सीप, जीवनवृत्त तयार गर्ने, विद्युतीय हुलाक प्रयोगलगायतका सम्बन्धित सीप, कृत्रिम बुद्धिमत्ता तथा समुदायमा आधारित परियोजना विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ सञ्जालका अध्यक्ष सरोजकुमार महतोले जानकारी दिए ।


उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवालाई सक्षम, जिम्मेवार तथा नेतृत्वदायी नागरिकका रूपमा विकास गर्दै स्थानीय विकास र सुशासनमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो ।
इच्छुक युवाले तोकिएको समयभित्र आवेदन फाराम भर्नुपर्नेछ। प्राप्त आवेदनमध्ये छनोट भएका युवालाई मात्र कार्यक्रममा सहभागी गराइने आयोजकले जनाएको छ ।
कार्यक्रम असार २० र २१ गते बटेश्वर–२ स्थित कार्तिक कुमार सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलमा सञ्चालन हुनेछ।
बटेश्वर युवा सञ्जालले यो कार्यक्रम केवल तालिममा सीमित नरही युवाको नेतृत्व क्षमता र नागरिक जिम्मेवारी विकास गर्ने अभियान भएको जनाएको छ । स्थानीय तहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अवसरलाई जोड्दै युवालाई सिक्ने, नेतृत्व गर्ने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने अवसर प्रदान गर्नु कार्यक्रमको लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ।