TodayPati

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले पत्रकारिताको नाममा हुने अनैतिक, गैरकानुनी तथा पेशाविपरीत गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरेको छ ।

महोत्तरीको बर्दिबासमा शनिबार सम्पन्न महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभामा उठेका सवाल, आएका प्रस्ताव तथा समसायिक मुद्दासमेटेर महासंघले सोमबार सात बुँदे घोषणापत्र जारी गरेको छ । महासंघ मधेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा हस्ताक्षरित जारी घोषणापत्रमा पत्रकारिताको आवणमा गलत गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने उल्लेख छ ।

यस्तै पत्रकारिता आचारसंहिताविपरीत हुने गतिविधिको जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने र त्यस्ता क्रियाकलाप गर्ने उपर सम्बन्धित निकायले कारबाही गरे महासंघले हस्तक्षेप नगर्नेसमेत घोषणापत्रमा उल्लेख छ । तर, विभिन्न जालझेलमार्फत पत्रकारहरूलाई फसाउने अनावश्यक कार्य तथा कारबाहीको भने निरन्तर विरोध गर्दै त्यसविरुद्ध संघर्ष गरिने जनाइएको छ ।

महासंघले संघीय सरकारले परिपत्रमार्फत प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने कार्य संघीयताको मर्म र संविधानविपरीत रहेको ठहर गर्दै त्यस्ता कदमविरुद्ध प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने जनाएको छ । निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्ने प्रेसविरोधी परिपत्र तत्काल खारेज गराउन निरन्तर दबाब सिर्जना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ

त्यसैगरी, मधेश प्रदेश सरकारसँग समन्वय गरी प्रदेश समिति तथा आठवटै जिल्ला शाखाको संस्थागत सुदृढीकरण, पत्रकार तथा पत्रकारिताको हितका कार्यक्रम सञ्चालनका लागि पहल जारी राख्ने निर्णय गरिएको छ । प्रदेश तथा स्थानीय तहलाई प्रेसमैत्री बनाउन आवश्यक नीति, कानुन तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका लागि सहकार्य गर्ने र सामाजिक सञ्जालमा गरिएका व्यक्तिगत अभिव्यक्तिलाई पत्रकारितासँग जोडेर गलत भाष्य निर्माण गर्ने प्रवृत्तिविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा सम्पूर्ण पत्रकारहरूलाई संघीयता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधैँ अडिग रहन पनि अपिल गरिएको छ । पाँचौँ साधारणसभा सफल बनाउन योगदान पु¥याउने सबैप्रति महासंघले आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *