टुडेपाटी-
जनकपुर, जेठ २६ गते ।
समग्र जनउत्थान केन्द्र लहानद्वारा जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी महिला तथा पुरुषहरूले संस्थाले सञ्चालन गरेका प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमका कारण आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको बताएका छन् । लैङ्गिक समानता तथा समाजिक समावेशीकरण रणनीति तथा लैङ्गिक हिंसा राहत कोषको उपयोग सम्बन्धि नीतिगत संवाद कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
प्रशिक्षणपछि परिवारभित्रको व्यवहारमा सुधार आएको, घरायसी विवाद तथा झैझगडा कम भएको र महिला–पुरुषबीच आपसी सम्मान तथा समानताको भावना बढेको उनीहरुको भनाइ थियो ।
केयर संस्थाको सहयोग तथा मधेशको समाज कल्याण तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको उक्त कार्यक्रम आयोजक संस्था जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा भएको हो । सम्पन्न कार्यक्रममा समाज कल्याण मन्त्रालयका सचिव सुशीलकुमार साह, सिरहाको धनगढीमाई नगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी, संस्थाकी कार्यकारी निर्देशक अनिता चौधरी, मलगायतले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोग मधेश प्रदेश कार्यालयका प्रमुख सहनीले स्थानीय तहहरूले यस्ता कार्यक्रमहरू प्रायः ठेक्का–पट्टामार्फत सञ्चालन गरिरहेकाले अपेक्षित उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे । प्रदेश सरकारको पनि यस्ता कार्यक्रम प्राथमिकता नदिएको उनको भनाइ छ ।
उपप्रमुख चौधरी लैङ्गिक हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण तथा सामाजिक समानता प्रवद्र्धनका लागि स्थानीय तह, नागरिक समाज र सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन् । यस्ता कार्यक्रमको लागि प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरिन् ।
सहभागीहरुले संस्थाले गरेको कार्यक्रमको प्रभावकारितासँगै परिवार तथा समाजमा आएको रुपान्तरणको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण देवकुमार महतोले गरेका थिए ।
उनीहरूका अनुसार यस्ता कार्यक्रमले लैङ्गिक हिंसा न्यूनीकरण गर्न तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।